जितुको इशारा ‘माग्ने बुढा’ तिर हो ?



कलाकार जितु नेपाल फिल्म ‘कार्साङ’को प्रचारमा दौडधुप गरिरहेका छन् । फिल्मका मुख्य कलाकार दयाहाङ राई व्यस्त भएपछि जितुको दौडधुप बढी देखिएको छ ।

फिल्मको प्रचारका क्रममा जितुले आफ्नै सहकर्मी केदार घिमिरे ‘माग्ने बुढा’प्रति भने खरो टिप्पणी गरेका छन् । उनले भनेका छन्–‘मैले फिल्म साइन गर्दा नै निर्माता निर्देशकसँग पारिश्रमिकको बिषयमा बाहिर हल्ला गर्न नपाइने शर्त राखेको हुन्छु । म र मेरो टिमका केही मानिसहरुबाहेक अरुलाई मेरो पारिश्रमिकको बिषयमा थाहा नहोस् भन्ने म चाहन्छु । म कलालाई पारिश्रमिकसँग बाड्दिनँ ।’

यसको अर्थ, अहिले केदारले आफूलाई पारिश्रमिकको कारण चर्चामा ल्याएका छन् । तर, जितु आफू कलालाई पारिश्रमिकसँग तुलना नगर्ने बताइरहेका छन् । एकातिर, केदार महंगो कलाकार भएकोमा खुशी देखिएका जितुले अर्कोतिर उनै केदारको पारिश्रमिकको हल्लामा व्यङ्ग्य पनि कसे ।

जितुले केदार ‘छक्का पन्जा’को टिम भन्दा बाहिरको फिल्म खेल्न थालेकोमा पनि खुशी व्यक्त गरे । केदारको अभिनय धेरैले हेर्नुपर्छ भन्ने आफ्नो तर्क रहेको उनको भनाई थियो । ‘छक्का पन्जा’को टिम फुटेकोमा आफूलाई भने केही थाहा नभएको जितुको तर्क छ ।