काठमाडौं– सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति माग गरेको छ ।
मंगलबार अदालत उपस्थित गराइएका लामिछानेमाथि थप चार दिन हिरासतमा राख्न माग गरिएको हो । लामिछानेलाई हिरासतमा राख्न पछिल्लो पटक लिएको ५ दिनको म्याद सोमबार सकिएकाले आज उनलाई अदालतमा उपस्थित गराइएको हो ।
लामिछानेविरुद्ध पुस ५ गते जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर गर्नेगरी सरकारी वकिल कार्यालयले तयारी गरिरहेको छ। सम्पत्ति शुद्धीकरण मुद्दामा ९० दिन अनुसन्धान गर्न पाउने भएकाले पुस ५ गते उनीविरुद्ध अभियोग पत्र दायर गर्न लागिएको हो।
पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेको मितिले पुस ५ मा ९० दिन पुग्ने भएकाले लामिछानेलाई पनि जोशी पक्राउ गरेको मितिबाट म्याद मिलाइएको छ। उनलाई प्रहरीले गत कार्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा लगेको थियो । पछिल्लो दुई महिनामा उनलाई कास्की, काठमाडौं, चितवन र पर्सा अदातलमा उपस्थित गराएर अनुसन्धान भइरहेको छ ।
आज कास्की प्रहरीले लामिछानेसहित ५ जनालाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको छ । प्रहरीले गोर्खा मिडियाकै पूर्व प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, जीबी राईका सहयोगी लिला पछाईंलाई अदालतमा उपस्थित गराएको हो ।
यसअघि सूर्यदर्शन सहकारी ठगीका आरोपितहरु लामिछानेसहित ५१ जनालाई सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा चलाउन कास्की प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन पेश गरिसकेको छ ।
सूर्यदर्शन सहकारी ठगीमा प्रतिवादी बनाइएका ५१ जनाबाट १ अर्ब ५१ करोड बीगो मागसहित प्रहरीले प्रतिवेदन तयार गरेको छ । प्रतिवेदन पेश गरिसकेपनि अझै केहिदिन हिरासतमा राख्ने मागसहित प्रहरीले उनलाई अदालतमा उपस्थित गराइएको हो ।
प्रतिक्रिया