अमेरिकाको एउटा विद्यालयको कक्षाकोठामा १५ वर्षीया छात्राले गोली चलाइन्


काठमाडौँ- संयुक्त राज्य अमेरिकाको एउटा विद्यालयको कक्षाकोठामा १५ वर्षीया छात्राले गोली चलाएकी छिन्। विसकन्सिन प्रान्तको म्यडिसनस्थित एबन्डेन्ट लाइफ क्रिस्टियन स्कुलमा सोमबार बिहान कक्षा सुरू भएपछि १५ वर्षीया छात्राले अन्धाधुन्ध गोली चलाएकि हुन्। समाचार संस्था रोयटर्सका अनुसार गोली लागेर एक विद्यार्थी र शिक्षकको मृत्यु भएको छ र ६ जना घाइते भएका छन्।

२ जनाको मृत्यु र ६ जना घाइतेपछि छात्राले आफैमाथि गोली चलाउँदा उनको पनि मृत्यु भएको म्याडिसन प्रहरी प्रमुख शन बार्न्सले बताए। गोली चलाउने छात्रा सामन्था भनेर चिनिने नटाली रूपनो रहेको पनि प्रहरी प्रमुख बार्न्सले जनाए। घाइते ६ जनालाई उपचारका लागि नजिकैको अस्पताल लगिएको छ र तीमध्ये २ जनाको अवस्था गम्भीर छ। विद्यालयमा अन्धाधुन्ध गोली चलेपछि २ कक्षामा पढ्ने ६ ७ वर्षकी छात्राले ९११ मा फोन गरेर प्रहरीलाई घटनाबारे जानकारी दिएको बताए।

गोलीको खबरपछि विद्यार्थीका अभिभावकहरू विद्यालय पुगेका थिए। प्रहरी प्रमुख बार्न्सले सोमबारको घटना अत्यन्तै दुःखद रहेको जनाएका छन् । बाँकी सबै विद्यार्थीहरू सकुशल रहेको उनले बताए। उक्त विद्यालयमा झन्डै ४ सय विद्यार्थि अध्ययनरत रहेको बताइएको छ। गोली चलाउने छात्राका अभिभावकहरूसँग प्रहरीले सोधपुछ गरिरहेको छ।