दया र सौगातको पछि लाग्दै निर्माता, तर समय खोई ?



शुक्रबारदेखि फिल्म ‘बमबहादुर’ रिलिजमा आउँदैछ । यो फिल्मको प्रचारमा नायक सौगात मल्ल देखिनुपर्ने हो । तर, उनी अर्को फिल्म ‘बलिदान’को सेटमा व्यस्त भएपछि यो फिल्मका लागि समय नै दिन सकेका छैनन् । यसैले, यो फिल्मको प्रचार पनि खासै छैन । शुक्रबार यो फिल्मले कस्तो व्यापार गर्ने हो हेर्न बाँकी छ ।

यो फिल्मका मुख्य कलाकार सौगात मल्लले प्रचारमा समय नदिएपछि यसको निर्माणपक्षले उनी भएको ठाउँमा नै पत्रकार सम्मेलन गर्यो । सिलगुढी, दार्जिलिङ, काठमाडौंबाट पत्रकार इटहरी लगेर पत्रकार सम्मेलन गरियो ।

धन्न, सौगातले इटहरीमा पुगेको टिमका लागि भने समय दिएछन् । काठमाडौंका धेरै मिडियाले त सौगातको यो फिल्मको बिषयमा के धारणा हो वुझ्न पाएका छैनन् । सायद, फिल्म रिलिज हुँदासम्म पनि सौगात उपलब्ध हुने छैनन् ।

फिल्म ‘कार्साङ’को अवस्था पनि यस्तै छ । यो फिल्मको प्रचारमा अहिले नायक जितु नेपाल दौडिएका छन् । फिल्ममा मुख्य भूमिकामा दयाहाङ राई छन् । तर, दयाले यो फिल्मका लागि समय नै दिन सकेका छैनन् ।

फिल्म पौषको २६ गतेबाट रिलिजमा आउँदैछ । सोमबार आयोजित पत्रकार सम्मेलनमा जितुले दयाको पछि पछि दौडनु त राम्रो हो नी भन्ने तर्क गरे । अर्थात, यो फिल्मको टिमले दयाको एक–दुई दिन समय पायो भने ठूलो कुरा हुने भयो ।

फिल्ममा काम गरेपछि कलाकारहरुले त्यसको प्रचार गर्नुपर्छ भन्ने दायित्ववोध गर्न आवश्यक छ । तर, नाम चलेका कलाकारहरुले यति धेरै फिल्म साइन गर्छन् कि उनीहरु प्रचारमा उपलब्ध हुन नै सक्दैनन् । जसको असर फिल्मको बक्स अफिसमा पर्छ ।