काठमाडौँ- प्रेमिकाको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । गत असोज २३ गते बर्दिबास नगरपालिका–५ टुटेश्वरमा २२ वर्षीया अनु रायको शव वेवारिशे अवस्थामा फेला परेको थियो । उनको हत्या गरेको आरोपमा प्रहरीले सर्लाही चक्रघट्टा–९ खोइरियाका २५ वर्षीय मन्दिपकुमार यादवलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार महोतरी अतराढ घर भई जनकपुर बस्दै आएकी अनुलाई मन्दिपले सानै उमेरदेखि मन पराउँथे । दुवै जनाबीच प्रेम भएपछि एक अर्कासँग विवाह गर्न टुटेश्वर मन्दिरमा भेटेर सहमति भएको थियो । विवाहको सहमतिपछि अभिभावकलाई घरमा बोलाउने विषयमा दुवै जनाबीच विवाद भए पछि एकअर्कालाई कुटपिट हुँदा युवतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तुला प्रसाद जैसवारले बताएका छन् ।
टुटेश्वर मन्दिरबाट मृतक महिलासँग मन्दिप सँगै गएकोटेम्पुमा सँगै यात्रा गरेको भिडियो प्राप्त भएपछि अनुसन्धान गर्दै जाँदा उनलाई वीरगन्जबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक जैसवारले जनाए । पक्राउ परेका यादवलाई कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया