महेश बस्नेतको दाबीः प्रधानमन्त्री ओली पुष २५ गते भारत भ्रमणमा जाने


काठमाडौं– नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओली यही पुष २५ गते भारत भ्रमणमा जाने तय भएको बताएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेशबुकमार्फत प्रधानमन्त्री ओली चार दिने भ्रमणमा यही पुष २५ गते भारत जाने दाबी गरेका छन् ।

नेपाल सरकारले खासगरी परराष्ट्र मन्त्रालयका अधिकारीले अहिलेसम्म भ्रमणको मिति तय नभएको बताईरहेको बेलामा एमाले नेता बस्नेतले भने प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिति नै सार्वजनिक गरेका छन् । यसअघि हिजोमात्रै एमालेका पूर्व विदेश विभाग प्रमुख डा। राजन भट्टराईले पनि प्रधानमन्त्री निकटभविष्यमा भारत जाने दाबी गरेका थिए ।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा भट्टराईले भनेका थिए,‘निकट भविष्यमा उहाँ भारत भ्रमणमा जाँदै हुनुहुन्छ । भारतीय प्रधानमन्त्रीको निमन्त्रणामा जानुहुन्छ । एउटा देशको प्रधानमन्त्री कसरी जाने भनेर प्रश्न गर्ने होईन नि ऋषिजी ।’

पत्रकार धमलाले उसो भए भ्रमणको लागि भारतबाट निम्तो आईसक्यो त भनेर राखेको अर्को प्रश्नमा भट्टराईले भने–‘निम्तो नआएको भए प्रधानमन्त्रीले म जान्छु भनेर बोल्नुहुन्छ? प्रधानमन्त्रीले सार्वजनिक रुपमा बोलेको कुरा तपाईं÷हामीले रेडियो, टेलिभिजन अथवा चिया खाँदा गफ गरेको जस्तो कुरा हो र?’