काठमाडौं– विद्रोही समुहले राजधानी कब्जा गरेपछि सिरिया छाडेर भागेका तत्कालिन राष्ट्रपति बसर अल असद नेतृत्वको सरकारले मारेका एक लाखभन्दा बढी मानिसको चिहान भेटिएको दाबि गरिएको छ ।
अमेरिकामा बसेर सिरियाबारे वकालत गर्ने समूहको प्रमुखले सिरियाको राजधानी नजिक सामूहिक चिहान रहेको बताएका हुन् । सिरियाली टास्क फोर्सका प्रमुख मौआज मुस्ताफाका अनुसार राजधानी दमास्कसबाट ४० किलोमिटर टाढा अल कुतेइफामा भेटिएको सामूहिक चिहानमा एक लाख मानिसहरूको शव रहेको छ ।
असद सरकारविरूद्ध बोल्दा यातना दिएर मारिएका मानिसहरुको शव त्यस चिहानमा रहेको बताइएको छ । उक्त चिहान यही वर्ष भेटिएको पाँच चिहानमध्ये एक रहेको पनि मुस्ताफाले रोयटर्ससँग बताएका छन्।
उनले अन्यत्र पनि त्यस्ता सामूहिक चिहान हुनसक्ने र ती चिहानहरूमा अमेरिकी र बेलायती नागरिकहरू समेतलाई मारेर गाडिएको हुनसक्ने बताएका छन्।
असद सरकारले आफ्नो विरोध गर्नेलाई यातना दिएर मार्ने र सैनिक अस्पताल हुँदै सामूहिक चिहानमा लगेर गाड्ने गरेको मुस्ताफाले बताएका छन्। शव व्यवस्थापनका लागि दमास्कसका नगरपालिकाहरूले समेत सहयोग गरेको उनको आरोप छ । सामूहिक चिहानमा कार्यरत मानिसहरू, बुलडोजरका चालकहरूसँग कुरा गर्दा उनीहरूले शव व्यवस्थापनका लागि आफूहरूलाई बाध्य पार्ने गरेको बताएको उनले रोयटर्ससँगको अन्तर्वातामा बताएका छन् ।
उनले त्यस्ता चिहानहरू असुरक्षित रहेको पनि बताएका छन् । ती चिहान र त्यसमा गाडिएका मानिहरूबारे अनुसन्धानका लागि त्यसलाई सुरक्षित राख्नुपर्ने उनले बताएका छन् । सिरियामा गृहयुद्ध चर्किएयता असद नेतृत्वको सरकारले लाखौं मानिसहरूलाई यातना दिएर मारेको आरोप छ।
प्रतिक्रिया