संसदीय छानविन विशेष समितिका सभापति थापाको टिप्पणीः धनराज गुरुङको सम्बन्धविच्छेद ‘सहकारी डिभोर्स’


काठमाडौं– सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले अब सहकारी ठगहरु आकाशमाथि, जमिनमुनि जहाँसुकै भएपनि कानुनको दायरामा आउने बताएका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रममा सम्बोधन गर्दै उनले आफू सभापति रहेको सो संसदीय विशेष समितिले दिएको प्रतिवेदनले काम गरिरहेको बताएका हुन् ।

‘म तपाईँहरुलाई भन्न चाहन्छु, ‘अब सहकारी ठगीमा फरार व्यक्तिहरु आकाशमाथि, जमिनमुनि जहाँसुकै भएपनि अब जोगिने अवस्था छैन । प्रतिवेदनले यो काम गरेको छ । सबैलाई कानुनको दायरामा ल्याउँछ । पानीमुनि गएपनि छोड्दैन, आकाशमाथि गएपनि छोड्दैन,’उनले भने ।

साथै, नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र उनीकी श्रीमतीबीच भएको सम्बन्धविच्छेदलाई उनले ‘सहकारी डिभोर्स’ को संज्ञा दिए । ज्योति गुरुङ अमेरिकामा रहेको आफूहरुले प्रतिवेदनमा पनि उल्लेख गरेको र अहिले सरकारले ज्योति गुरुङसहित ज्योति बहादुर भण्डारीको नाममा समेत रेडकर्नर नोटिस जारी गरिसकेको उनले जानकारी गराए ।