काठमाडौं– गृहमन्त्री रमेश लेखकले सरकार ढल्ने र मन्त्रिपरिषद् पुनर्गठन हुने दुवै हल्लामात्र भएको दाबी गरेका छन् ।
बुधबार प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रिपरिषद् हेरफेरबारे कुनै पनि सत्यता नरहेको जिकिर गरेका हुन् ।‘दुई पार्टीबीच भएको सहमतिअनुसार यो सरकार जान्छ’ गृहमन्त्री लेखकले भने, ‘सरकार फेरिने र मन्त्रीहरू फेरिने अनावश्यक हल्ला मात्र हुन् ।
मन्त्री लेखले सरकार सञ्चालनका विषयमा नेपाली कांग्रेस र एमालेको बीचमा कुनै पनि समस्या नरहेको प्रष्ट पारेका छन् । उनले वर्तमान सरकार ०८४ को चुनावसम्मै जाने सुनाए । ‘हाम्रोबीच कुनै समस्या छैन, सुमधुर सम्बन्ध छ । सहमतिअनुसार नै २०८४ को निर्वाचनसम्म पुग्छ । यसमा कसैले आशंका गर्नु पर्दैन ’ लेखकले भने ।
त्यसोत प्रधानमन्त्री केपीशर्मा ओलीले आफ्नो क्याबिनेटका केही मन्त्रीफर्ने जोडबल गरिरहेका छन् । आफ्नै दल र सत्ता साझेदार दल नेपाली कांग्रेसका गरि आधा दर्जन मन्त्री फेर्ने ओलीको तयारी छ । नतिजा दिन नसकेका र कार्यशैलीमा सुधार ल्याउन नसकेका संस्कृति पर्यटनसहित संघीय मामिला तथा सामान्य प्रशासनसहितका केही मन्त्री फेर्न ओलीको तयारी छ । तर, कांग्रेसका नेताहरु भने अहिले यस्तो सम्भावना नरहेको बताउँदै आएका छन् ।
मन्त्री लेखकले सहकारी ठगीको आरोपमा हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेको मानव अधिकार हनन नभएको समेत दाबी गरेका छन् । मकै पोल्ने, दिनभर ठेला चलाउने, ज्याला मजदुरी गरेर जम्मा गरेको पैसा हिनामिना गर्नेले भिड जम्मा गरेर न्यायका कुरा गर्न नसुहाउने बताए।
‘लाखौँ गरिब मान्छेको अर्बौँ रुपैयाँ हिनामिना गर्ने, ठगी गरेर अर्काको रकम खाइदिने अनि मानवअधिकार उल्लंघन भयो भन्ने रु उहाँ माथि कुनै अवाञ्छित गतिविधि भएको छैन’ उनले भने।
प्रतिक्रिया