यमराजलाई निम्तो गर्नुभन्दा कम जोखिमपूर्ण छैन नेपालमा सडक यात्रा, १० वर्ष २४ हजार बढीको मृत्यु


काठमाडौं– एक ठाउँबाट अर्को ठाउँमा गइरहँदा मानिसहरु यात्रामा रमाइलो समय बिताउँछन् । तर नेपालको बाटोको अवस्था यस्तो छ कि यहाँ आफू जान लागेको ठाउँसम्म सुरक्षित पुगिन्छ कि पुगिँदैन भन्ने चिन्ताले सताउँछ ।

त्यसैले कतिपयले नेपाली सडकलाई यमराजको बाटोको समेत उपनाम दिएका छन् । यो उपनाम पनि साँच्चैनै तथ्यांकलाई हेर्दा सान्दर्भिक देखिएको छ । नेपालमा सडक दुर्घटनामा जतिको ज्यान गएको त्यती त माओवादी सशस्त्र आन्दोलन होस् या २०७२ सालको भुकम्प वा कोरोनाको महामारी । त्यस्ता आपतकालिन अवस्थामा नेपालीहरुले ज्यान गुमाएको भन्दा धेरैले त सडक दुर्घटनामा ज्यान गुमाएका छन् ।

२०५२ सालदेखि १० वर्षसम्म चलेको माओवादी सशस्त्र–द्वन्द्वमा सरकार र विद्रोही पक्षका गरेर करिब १३ हजार मानिसको मृत्यु भएको इन्सेकको तथ्यांक छ । तर आर्थिक वर्ष २०७१/७२ सालयता १० वर्षमा सडक दुर्घटनाकै कारण भने २४ हजार ९५ जनाको मृत्यु भएको छ। यस्तै विगत १७ वर्षमा ३५ हजार जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन्। नेपालमा सवारी दुर्घटनामा हरेक दिन औसत आठ जनाको दरले मृत्यु हुने गरेको सरकारी तथ्यांक छ।

घाइतेको संख्या झन् डरलाग्दो छ । विगत १७ वर्षमा लगभग ७८ हजार जना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार हातखुट्टा गुमाएका, टाउको फुटेका, ढाड भाँचिएका, शरीरका अंग नचल्नेलगायत जटिल समस्या भोगेकाहरू गम्भीर घाइते हुन्। यो अवधिमा साधारण घाइतेको संख्या दुई लाखभन्दा माथि छ।

पछिल्लो छ महिनाको दुर्घटनाको अवस्थालाई हेर्ने हो भने नेपालमा सवारी चालकको लापर्बाहीकै कारण अत्यधिक दुर्घटना भएको देखाउँछ। चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि कात्तिकसम्म तीव्र गतिका कारण लगभग ३५ सय दुर्घटना भएका छन्। ट्राफिक नियम उल्लंघन गरेकै कारण ४४५ वटा दुर्घटना भइसकेका छन् भने चालक निदाएका कारण ६ र मापसेका कारण ४९८ दुर्घटना भएका छन्।

चालकले जथाभावी ढोका खोल्दा र मोबाइल फोन प्रयोग गरेका कारण र ओभरटेकका कारण पनि दुर्घटना हुनेगरेको ट्राफिक प्रहरीको तथ्यांकले देखाएको छ ।