मिस नेपालहरु फिल्ममा मात्र होइन, कार्यक्रम संचालनमा पनि अगाडि



नेपालका अधिकांश मिस नेपालहरु फिल्मको यात्रा तय गर्छन् भनिन्छ । मिस नेपाल भएको केही बर्षपछि फिल्म क्षेत्रमा करिअर खोज्दै अगाडि बढ्नेहरु धेरै छन् ।

नायिका हुने मिस नेपालहरुमा श्रृष्टी श्रेष्ठ, झरना बज्राचार्यदेखि नम्रता श्रेष्ठसम्म छन् । मलिना जोशीले पनि फिल्मी करिअर अगाडि बढाइरहेकी छिन् ।

रुवी राणा, उषा खड्गी पनि आज फिल्मको दुनियाँमा नै रमाइरहेका छन् । तर, मिस नेपालहरु फिल्ममा मात्र होइन, कार्यक्रम संचालनमा पनि अगाडि देखिएका छन् । कुनै रियालिटी शोदेखि स्टेज कार्यक्रम होस्टिङमा उनीहरु अग्रपंक्तिमा रहेको पाइन्छ ।

पूर्व मिस नेपाल माल्भिका सुब्बा स्टेज कार्यक्रम संचालनमा सर्वाधिक अगाडि छिन् । उनको माग यस्ता कार्यक्रममा खुबै देखिन्छ । यस्तै, पूर्व मिस नेपाल सुगारिका केसी पनि रेडियो कार्यक्रम, स्टेज कार्यक्रममा सर्वाधिक माग भएकी महिला हुन् । देश तथा विदेशमा आयोजना हुने थुप्रै अवार्ड समारोह उनले होस्ट गरेकी छिन् ।

पूर्व मिस नेपाल मलिना जोशी पनि स्टेज कार्यक्रम होस्टिङ गरिरहेकी हुन्छिन् । केही समय अगाडि बेलायतमा आयोजना भएको एक फिल्मी अवार्ड समारोहमा उनले नै होस्ट गरेकी थिइन् ।

अब, पूर्व मिस नेपाल नम्रता श्रेष्ठ पनि यो काममा अग्रसर देखिएकी छिन् । उनले, हाल ‘कमेडी दरबार’ नामक चर्चित कमेडी शो होस्ट गरिरहेकी छिन् । अब, उनी चाडै नै ‘मेरो डान्स यूनिभर्स’को होस्टिङ गर्ने तयारीमा छिन् ।

यसरीहेर्दा, मिस नेपालहरु फिल्म तथा मोडलिङमा त व्यस्त छन् नै, होस्टको रुपमा पनि अगाडि देखिएका छन् ।