‘जेरीः अन टप’का सबै कलाकार विदेश उडे, १५ दिनलाई छायांकन ब्रेक



फिल्म ‘जेरीः अन टप’को छायांकन फेरि रोकिएको छ । एक अवार्ड समारोहमा सहभागी हुन भन्दै अधिकांश कलाकारहरु विदेश उडेपछि यसको छायांकन १५ दिनलाई ब्रेक गरिएको हो ।

निर्माता सरोज न्यौपानेले फिल्मको छायांकन १५ दिनलाई रोकिएको जानकारी दिए ।

यो फिल्मको लुक्लाको छायांकनपश्चात काठमाडौंमा छायांकन भइरहेको थियो । फिल्मका मुख्य कलाकारहरु अनमोल केसी, भुवन केसी, केदार घिमिरे, आँचल शर्मा एक अवार्ड समारोहमा सहभागी हुनका लागि अमेरिका उडेका छन् । यता, नायिका जसिता गुरुङ पनि यूके उड्न लागेको वुझिएको छ ।

सुयोग गुरुङको निर्देशनमा तयार भइरहेको यो फिल्मको प्रदर्शन मिति आउँदो बर्षको जेठमा तोकिएको छ । सुरुवातमा फागुनको २ गते प्रदर्शन मिति तय गरेपनि छायांकनको काम नै नसकिएपछि जेठमा पुर्याइएको हो ।

फिल्म ‘जेरीः अन टप’को काठमाडौंको छायांकनपश्चात भारतको लद्दाकमा छायांकन गर्ने तयारी यसको निर्माणपक्षको छ ।