काठमाडौं– रवि लामिछानेले हिरासतमा आफू सुरक्षित नभएको बताएका छन्। बुधबार सिसीटिभीबाट खिचिएको फोटो भाइरल भएपछि उनले लामिछानेले यस्तो बताएका हुन्।
बिहीबार रविका सहयोगी एवम् रास्वपा सहकोषाध्यक्ष दीपक बोहराले जिल्ला प्रहरी कास्कीको हिरासतमा पुगेर रविलाई भेटेका छन् । भेटघाटको क्रममा उनले यस्तो बताएका हुन्।
बोहराका अनुसार रविले भनेका छन्, ‘म सुरक्षित छैन, यिनीहरूले फोटो मात्रै होइन, भिडिओसमेत कतै पठाउँछन् कि जस्तो लाग्छ। छानबिन हुनुपर्छ।’
हिरासतजस्तो देखिने कोठामा ओढ्ने ओढेर सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा राख्दै त्यो रवि लामिछाने नै भएको दाबीसहित बुधबार भाइरल बनाइएको थियो । सो फोटोपछि बोहराले नै सरकारमाथि प्रश्न उठाउँदै सामाजिक सञ्जाल तताएका थिए । बिहान स्टाटस हालेका बोहराले केही समयमा फेरि लाइभ बस्दै सरकारमाथि प्रश्नको वर्षा गरेका थिए । तर, उक्त तस्बिर रास्वपाकै कार्यकर्ताले खिचेको पुष्टि भएको छ ।
सो तस्बिर रवि लामिछानेको पक्षमा आन्दोलन गर्दै आएका रास्वपाका समर्थक डा निकोलस भुसालले खिचेको खुलेको छ । भुसालले दुई दिनअघि ‘नागरिक विद्रोह’ का जुट्न आह्वान गर्दै सामाजिक सञ्जालमा एक पोस्ट गरेका थिए । उनले शनिबार चितवनमा आन्दोलनका लागि जुट्न आह्वान गरेको पोस्टरसहित रविको उक्त भाइरल तस्बिर हालेका थिए । तर आज सो तस्बिर भुसालले हटाएका छन् ।
कास्की प्रहरी स्रोतले दिएको जानकारी अनुसार केही दिन अघि निकोलस भुसाल रवि लामिछानेलाई भेट्न प्रहरी हिरासतमा पुगेका थिए । तर, प्रहरीले रवि सुतिरहेको र अहिले भेट्न नमिल्ने बताएको थियो । भुसालले भेट्नै पर्ने ढिपी गरेपछि उनलाई सीसीटिभीबाट रवि सुतेको देखाइएको थियो । सो बेला प्रहरीको आँखा छलेर भुसालले तस्बिर खिचेको हुनसक्ने स्रोतले जनाएको छ । यसबारेमा प्रहरीले अनुसन्धान थालेको छ ।
प्रतिक्रिया