काठमाडौं– हिरासतजस्तो देखिने कोठामा ओढ्ने ओढेर सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा राख्दै त्यो रवि लामिछाने नै भएको दाबीसहित बुधबार भाइरल बनाइएको थियो । सो फोटो सार्वजनिक भएपछि रविका सहयोगी एवम् रास्वपा सहकोषाध्यक्ष दीपक बोहराले सरकारमाथि प्रश्न उठाउँदै सामाजिक सञ्जाल तताएका थिए ।
कतिपयले उक्त फोटो सार्वजनिक किन गरियो भनेर कतिपयले प्रश्न गरिरहँदा कतिपयले भने उक्त तस्बिर रविको नरहेको भन्दै फोटोलाई फेक भनेको बताएका थिए । रविको भनिएको भाइरल फोटोमा एक व्यक्ति टोपी लगाएर सिरक ओढेर सुतिरहेका छन् । छेवैको टेबलमा किताबसँगै अन्य सामाग्री छन् । टेबलमा देखिएका किताबमध्ये दुईवटा किताब केहि प्रस्ट देखिएका छन् । ती किताब कुरान जस्तो देखिएको भन्दै कतिपयले उक्त फोटो कुनै विदेशी नागरिकको हुनसक्ने बताएका छन् ।
तर तस्बिरमा देखिएको किताब कुनै कुरानसँग सम्बन्धित भने होइन । पहेलो गोलोभित्र त्रिशुलजस्तो चिन्ह देखिएको किताबको नाम हो, ‘द आर्ट अफ वार’ ।
यस किताबका पाँचौ शताब्दीतिर चिनियाँ योद्धाले लेखेको शैन्य ग्रन्थको ट्रान्सलेसन हो । यसका लेखक सुन जु हुन् । यो किताब युद्धसँग सम्बन्धित सिप र कलालाई कसरी प्रयोग गर्ने भन्ने विषयसँग सम्बन्धित छ । यस्तै तस्बिरमा देखिएको अर्को किताब हो, ‘एज अफ रिभोलुसन’ । यो किताबका लेखक भारतीय मुलका अमेरिकी पत्रकार फरिद जकारियाले लेखेका हुन् । यस किताबमा अठारौँ र उन्नाइसौँ शताब्दीमा युरोप र अमेरिकामा भएको क्रान्तिलाई समेटिएको छ ।
उता सिसीटिभीबाट खिचिएको फोटो भाइरल भएपछि रवि लामिछानेले हिरासतमा आफू सुरक्षित नभएको बताएका छन्। बिहीबार रविका सहयोगी एवम् रास्वपा सहकोषाध्यक्ष दीपक बोहराले जिल्ला प्रहरी कास्कीको हिरासतमा भेट्दा यस्तो बताएका हुन्।
बोहराका अनुसार रविले भनेका छन्, ‘म सुरक्षित छैन, यिनीहरूले फोटो मात्रै होइन, भिडिओसमेत कतै पठाउँछन् कि जस्तो लाग्छ। छानबिन हुनुपर्छ।’
यता उक्त तस्बिर रास्वपाकै कार्यकर्ताले खिचेको पाइएको छ ।
सो तस्बिर रवि लामिछानेको पक्षमा आन्दोलन गर्दै आएका रास्वपाका समर्थक डा निकोलस भुसालले खिचेको खुलेको छ । भुसालले दुई दिनअघि ‘नागरिक विद्रोह’ का जुट्न आह्वान गर्दै सामाजिक सञ्जालमा एक पोस्ट गरेका थिए । उनले शनिबार चितवनमा आन्दोलनका लागि जुट्न आह्वान गरेको पोस्टरसहित रविको उक्त भाइरल तस्बिर हालेका थिए । तर आज सो तस्बिर भुसालले हटाएका छन् ।
कास्की प्रहरी स्रोतले दिएको जानकारी अनुसार केही दिन अघि निकोलस भुसाल रवि लामिछानेलाई भेट्न प्रहरी हिरासतमा पुगेका थिए । तर, प्रहरीले रवि सुतिरहेको र अहिले भेट्न नमिल्ने बताएको थियो । भुसालले भेट्नै पर्ने ढिपी गरेपछि उनलाई सीसीटिभीबाट रवि सुतेको देखाइएको थियो । सो बेला प्रहरीको आँखा छलेर भुसालले तस्बिर खिचेको हुनसक्ने स्रोतले जनाएको छ । यसबारेमा प्रहरीले अनुसन्धान थालेको छ ।
प्रतिक्रिया