काठमाडौं- काठमाडौंको सतुंगलमा एक जना किशोरीको हत्या भएको हो । चन्द्रागिरि नगरपालिका वडा नम्बर १० सतुंगल खरिबोटको एक घरमा किशोरी मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए । धादिङ गजुरी गाउँपालिका वडा नम्बर ४ घर भई खरिबोटस्थित एक घरको भुई तलामा डेरा गरी बसेकी १७ वर्षीया सरिता तामाङको शव बुधबार दिउँसो १ बजे फेला परेको छ ।
उनको हत्या आरोपमा प्रहरीले गजुरी गाउँपालिका वडा नम्बर ३ घर भई काठमाडौं महानगरपालिका वडा नम्बर १४ खड्का गाउँ बस्ने २४ वर्षीय विश्वास तामाङलाई पक्राउ गरेको हो । सरिता नैकापको बिष्णुदेवी शिक्षा सदन माविमा कक्षा १० मा अध्यनरत थिइन्। उनी मंसिर २९ गते मध्यराति देखि हराइरहेकी थिइन्। उनी बस्ने कोठामा बाहिरबाट ताला लगाइएको थियो। आफ्नी बहिनी हराएको भन्दै सरिताका दाइ नवीन रूम्बा तामाङले गत सोमबार (पुस १ गते) दिउँसो प्रहरी वृत्त थानकोटमा निवेदन दिएका थिए।
निवेदन परेपछि प्रहरी परिसर र मातहत कार्यालयहरूले उनलााई खोजी गरिरहेको थियो। खोजी गर्ने क्रममा बुधबार अपराह्न ३ बजेतिर प्रहरी डेरा कोठामा आइपुगेका थिए। डेरामा बाहिरबाटै चुकुल लगाइएको कोठामा गन्ध आइरहेको थाहा पाएपछि प्रहरीले खोलेर हेरेको थियो। त्यस कोठामा रहेको खाटमुनि शव राखिएको अवस्थामा फेला परेको एसपी अधिकारीले जनाए। शव सडिगलिसकेको अवस्थामा थियो । हत्यापछि लो बेड मुनि राखेर बाहिरबाट ताला लगाएको देखिन्छ,’ उनले भने, ताला लगाइएको हुँदा बहिनी बाहिर गएको होला भनेर दाइले सोचेको देखिन्छ।
केही दिनसम्म कोठाभित्रै रहेको हुँदा शव गलिसकेको उनको भनाइ रहेको छ। हत्याको कारणबारे पनि प्रहरीले अनुसन्धान अघि बढाएको हो । प्रहरीलाई दिएको प्रारम्भिक अनुसन्धानमा सामान्य विवादमा सरिताले गाली गरेर हातपात गरेको र त्यसक्रममा आफूले कुटपिट गरेको भनेर विश्वासले प्रहरीसमक्ष भनेका छन्। एसपी अधिकारीका अनुसार पक्राउ परेका विश्वास पनि मृतकका नातेदार पर्छन्। प्रहरीले मृतकको मोबाइल पनि विश्वासबाट बरामद गरेको हो। शव पोष्टमर्टमको लागि शिक्षण अस्पतालमा लगिएको छ भने पोष्टमर्टमबाट मृत्यु कसरी भएको हो भन्नेबारे छिनोफानो हुन्छ भनेर प्रहरीले बताएको छ। प्रहरी वृत्त थानकोट र परिसरले यस घटनाको थप अनुसन्धान गरिरहेका छन्।
प्रतिक्रिया