चौंथो स्टेजको ब्रेन क्यान्सरसँग हारे विवेक पंगेनी, एक्लिइन् पत्नी सिर्जना


काठमाडौं– चौंथो स्टेजको ब्रेन क्यान्सरसँग लडिरहेका विवेक पंगेनी। अमेरिकामा क्यान्सरसँग लडिरहेका श्रीमानलाई बचाउन पत्नी सिर्जना सुबेदीले निकै संघर्ष गरेकी थिइन् ।

टिकटकका भिडियोमा मर्मस्पर्शी देखिने भिडियोहरुसँगै उनको संघर्षमा धेरैले सहानुभुति दिएका थिए । श्रीमान मृत्युसँग लडिरहँदा पनि सिर्जनाले देखाएको त्याग र समर्पणका कारण उनीहरुको प्रेमलाई आदर्श प्रेमको रुपमा धेरैले हेरेका थिए ।

तर श्रीमतीका अनेकौँ प्रयासका बावजुद विवेकले क्यान्सरसँग हारेका छन् । अमेरिकामा नै लामो समयदेखि उपचारमा रहेका विवेकको बुधबार निधन भएको हो । सिर्जनका बुबा शिव सुवेदीका अनुसार केही दिनदेखि विवेकको स्वास्थ्य अवस्था बिग्रिएको थियो । सोहि क्रममा उनको बुधबार अस्पतालमा नै मृत्यु भएको हो ।

छोराको मृत्युसँगै विवेकका पिता मिनराज पंगेनी अमेरिका प्रस्थान गरिसकेका छन् । विवेकको शव भने अन्त्येष्टीका लागि नेपाल ल्याउने वा नल्याउने टुंगो नलागिसकेको सुबेदीले बताए ।

विवेक बिरामी हुनुभन्दा अगाडि नै टिकटकबाट विवेक र सिर्जनाको जोडी चर्चित थियो । सिर्जनाले स्टेप मिलाएर गितमा नाचिरहँदा ताल नमिलेको विवेकको नाच मानिसहरुले खुबै रुचाउँथे ।
अध्ययनमा निकै अब्बल विवेक २०७९ सालमा भौतिकशास्त्रमा पीएचडी गर्नलाई पूर्ण छात्रावृत्तीमा अमेरिका गएका थिए । उनी अमेरिका अध्ययनका लागि पुगेको ५ महिनापछि नै उनको आमाको निधन भएको थियो । त्यसपछि आमाको अन्तिम संस्कारका लागि नेपाल आइपुगेका विवेक आफैमा बज्रपात पर्यो । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल जाँदा उनलाई ब्रेन क्यान्सर भएको पत्ता लाग्यो, त्यो पनि चौँथो स्टेजको ।

ब्रेन क्यान्सर भएको थाहा भएको भोलीपल्ट नै उनीहरु अमेरिका गएका थिए । त्यहीँ नै अस्पतालमा उनको उपचार सुरु भयो । सुरुमा दुईवटा शल्यक्रिया गरेर ७० प्रतिशत ट्युमर निकालिएको थियो । बाँकी उपचार किमोथेरापी र रेडियसनमार्फत लामो समयदेखि भइरहेको थियो ।

त्यसपछि सिर्जनाले आफ्नो श्रीमानको स्वास्थ्य अवस्थाको बारेमा सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन् । त्यहाँ उनीहरुको रमाइलो नृत्यभन्दा पनि भावुक भिडियोहरु सार्वजनिक हुन थाले । उनीहरुको भिडियो हेरेर सामाजिक सञ्जालबाटै विवेकको उपचारको लागि १ लाख २ हजार डलरभन्दा बढी रकमसमेत संकलन भएको थियो ।

विवेक अमेरिकामा मृत्युसँग संघर्ष गरिरहँदा केहि महिनाअघि मात्र नेपालमा उनका भाइ विवेक पंगेनीको दुर्घटनामा निधन भएको थियो । भदौ २१ गते शुक्रबार तीजको दिन मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको थियो । भाइ अस्ताएको चार महिनापछि दाइको मृत्यु भएको हो ।

यता दुई वर्षको फरकमा नै श्रीमती र दुई छोरा गुमाएका विवेकका पिता मिनराज पंगेनीमाथी ठूलो बज्रपात परेको छ । श्रीमती र कान्छो छोराको अन्तिम संस्कार आफ्नै हातले गरेका उनी सास गुमाइसकेको जेठो छोराको लाशलाई हेर्न अमेरिका उडेका छन् ।