काठमाडौं– प्रहरी हिरासतमा सुतिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तस्बिर यतिखेर भाइरल बनेको छ। उनको तस्बिर सार्वजनिक भएपछि धेरैले हिरासतमा गोपनियताको हनन भएको भन्दै सरकारको आलोचना गरिरहेका छन्।
यता रविको फोटो भाइरल भएपछि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले भने आफ्नो श्रीमान रेशम चौधरीको प्रहरी नियन्त्रणमा रहेको समयलाई तुलना गरेकी छिन् । रेशमको हिरासतको समयमा रहँदाको अस्पतालको शय्याको तस्बिर समाजिक संजालमार्फत सेयर गर्दै अहिलेको कारागारमा धेरै सुविधा रहेको टिप्पणी गरेकी हुन् ।
टिकापुर घटनामा दोषी ठहर भएपछि चौधरी सांसद रहेकै बेला पक्राउ परेर कारागार चलान भएका थिए । सार्वजनिक तस्बिरमा उनका खुट्टामा फलामको शिक्री बाँधिएको देखिन्छ। उनले त्यसतर्फ इंगित गर्दै आफ्ना श्रीमानमाथि विभेद भएको महसुस गरेको बताएकी छिन्।
‘उहाँ (रेशम चौधरी) यसरी बस्नु हुन्थयो, अहिले त धेरै सुख सुविधा हुने रहेछ कारागारमा,’ उनले लेखेकी छिन्, ‘पूर्व गृहमन्त्री माननीय रवी ज्यूको फोटो भाइरल भैरहेको अवस्थामा हामीमाथी चाहीँ विभेद भएकै हो जस्तो महसुस भयो। हाम्रो नागरीक उन्मुक्ती पार्टीको जन्मदाता त्यस समय उहाँ पनि जन निर्वाचित सासंद नै हुनुहुन्थ्यो।’
प्रतिक्रिया