अमेरिकाको भिसा आएको इन्जिनियर भन्दै फेसबुकबाट भेटिएकी युवतीसँग विवाह, टिकटकबाट खुल्यो पोल


धनगढी– कञ्चनपुरमा अमेरिकाको भिसा लगाइदिने भन्दै युवतीलाई झुक्याएर दोस्रो विवाह गरे । तर, टिकटकबाट पोल खुलेपछि कञ्चनपुरबाट दुई जना पक्राउ परेका छन् । डडेल्धुराको भागेश्वर गाउँपालिका–४ का ३२ वर्षीय विष्णुप्रसाद माली र कञ्चनपुरको वेदकोट नगरपालिका–२ का जनकबहादुर धामी पक्राउ परेका हुन् ।

पक्राउ पर्ने मध्ये विष्णुप्रसाद मालीले कञ्चनपुरकी ३१ वर्षीया ठकुल्ला थरकी युवतीलाई सामाजिक सञ्जाल फेसबुकमा भेट्टाएर कुराकानी सुरु गरे । मालीले युवतीलाई प्रेमजालमा फसाउन आफू इन्जिनियर रहेको भन्दै ढाँटे । उनले आफू अमेरिका जान लागेको र भिसा आइसकेको भन्दै उनले छिटो विवाह गर्न दबाब दिन्छन् । युवतीलाई पनि सँगै अमेरिका लाने भनेपछि उनी तीन महिनाको सम्बन्धलाई विवाहमा परिणत गर्न तयार भइन् । तर उनले घरपरिवारको सहमतिमा मात्र विवाह गनेए प्रस्ताव राख्छिन् ।

त्यसपछि मालीले युवतीको परिवारसँग राम्रो सम्बन्ध भएको नाताले भिनाजु पर्ने जनकबहादुर धामीलाई हात माग्न पठाए । सो क्रममा धामीले पनि युवतीको परिवारलाई माली इन्जिनियर भएको र अमेरिकाको भिसा लागिसकेकाले केही दिनमा उड्ने बताउँछन् । विवाह गरेर दुलहीलाई पनि उतै लैजाने भनेपछि युवतीका आमा–बुवा पनि तयार हुन्छन् ।

त्यसपछि २३ मंसिरमा महेन्द्रनगरको चेतन होटलमा सिमित मानिसहरुको उपस्थितिमा विवाह सम्पन्न हुन्छ । मालीले आफ्नो काकाको स्वास्थ्य अवस्था निकै जटिल भएकाले जुठो पर्न सक्नेभएकाले थोरै जनाको उपस्थितीमा विवाह गर्न हतार गरेको बताएका थिए ।

विवाहपछि युवतीको परिवारले माली र युवतीलाई दाम्पत्य जीवनको सुभकामना दिँदै फेसबुक, टिकटकमा फोटो भिडियो राख्न थाले । त्यसपछि विवाह भएको पर्सिपल्ट टिकटकमा सार्वजनिक भएको भिडियो मालीकी श्रीमतीले भेट्टाइन् । उनले टिकटकमै मालीको श्रीमती आफू भएको बताउँछिन् ।

मालीको पहिलो श्रीमती टिकटकमा आएपछि युवतीका परिवारका सदस्यहरू अचम्ममा पर्छन् । सोधीखोजी गर्दा माली साँच्चिकै विवाहित भएको थाहा पाएपछि उनीहरूले बल्ल प्रहरीलाई खबर गरेका थिए । त्यही क्रममा उनीहरुले युवक कुनै इन्जिनियर नभइ गाडीको सहचालक भएको र अमेरिकाको भिसा आएको कुरापनि झु्टो रहेको थाहा पाए । त्यसपछि प्रहरीले मालीलाई डोटीको बुडरबाट पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी उमेशराज जोशीले यो प्रकरणमा मालीको नक्कली बुवा बनेर युवती पक्षसँग कुराकानी गर्ने व्यक्तिलाई समेत पक्राउ गरेर अनुसन्धान गरिने जानकारी दिए । माली र धामीविरुद्ध बहुविवाह मुद्दा दर्ता गरेर अदालतबाट दोस्रोपटक म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।