सेलिव्रेशन विहिन ५१ दिन



नायक विराज भट्टको निर्देशनमा तयार भएको फिल्म ‘१२ गाउँ’ले ५१ दिन मनायो । यो फिल्मले ५१ दिन मनाउँदा पनि विराज र उनका छोरा समीर भट्ट चुपचाप बसे ।

सामाजिक संजालमा ५१ दिन मनाएको जानकारी दिनु भन्दा बाहेक उनीहरुले कुनै पनि सेलिब्रेशन गर्न सकेनन् । फिल्मको ५१ दिने सेलिव्रेशन सुनसान बन्यो ।

आज फिल्म ‘पुर्ण बहादुरको सारङ्गी’ले देशका विभिन्न ३८ हलमा ५१ दिन मनाएको छ । कात्तिक १५ गतेबाट रिलिजमा आएको यो फिल्मले देशभरका हलमा ५१ दिन मनाउँदा यसको निर्माणपक्षले कुनै सेलिव्रेशन गरेन ।

पहिले पहिले फिल्मले ५१ दिन मनाउँदा निर्माताहरुले कार्यक्रम आयोजना गर्थे । ५१ दिन मनाउने हलदेखि फिल्मका प्राविधिक र कलाकारहरुलाई सम्मान गर्थे । तर, अहिले यो ट्रेन्ड खासै देखिएको छैन ।

फिल्म ‘पुर्ण बहादुरको सारङ्गी’ले ५१ दिन मनाउँदा दर्शकले पनि हलमा राम्रो साथ दिइरहेका छन् । किनभने, यसअघि केही फिल्मले हलमा जर्बजस्ती टिकाएर ५१ दिन मनाएका थिए । यो फिल्मले भने त्यसरी ५१ दिन मनाएको होइन ।

तर, फिल्मले ५१ दिन मनाउँदै गर्दा निर्माताहरुमा मनमुटाव आइसकेको छ । सेभेन सिज इन्टरटेन्मेन्ट फुटको अवस्थामा छ ।

यसैले पनि निर्माताहरुले ५० करोड ग्रस कलेक्शन गर्दा पनि सेलिब्रेशन गर्ने मुड नबनाएका होलान् ।

यो फिल्मले नेपाली फिल्मको इतिहासमा सर्वाधिक ग्रस कलेक्शन गर्ने रेकर्ड बनाएको छ । निर्माताले पनि फिल्मबाट राम्रो मुनाफा कमाएका छन् । तर, सेलिव्रेशन भने गर्न चाहेनन् ।