काठमाडौं– कास्की प्रहरीको हिरासतमा सुतिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तस्वीरको बारेमा छानबिन गर्न समिति गठन भएको छ ।
गण्डकी प्रदेश तालिम केन्द्रका प्रमुख एसएसपी मुकुन्द मरासिनीको नेतृत्वमा ४ सदस्यीय छानबिन समिति गठन भएको हो । छानबिन समितिलाई जतिसक्दो चाँडो प्रतिवेदन बुझाउन निर्देशन दिइएको गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी भोलाबहादुर रावलले बताएका छन् ।
बुधबारदेखि सामाजिक सञ्जालमा रवि लामिछानेको हिरासतमा सुतिरहेको अवस्थाको फोटो भाइरल भइरहेको छ । सो पछि हिरासतमा गोपनियता नभएको भन्दै प्रहरी प्रशासनको विरोध भइरहेका छन् ।
रविको तस्वीर सार्वजनिक भएसँगै प्रहरी सुरक्षामै प्रश्न उठेको समेत प्रहरी अधिकारीले स्विकारेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा ६ वटा हिरासत कक्ष छन् । रवि कास्की प्रहरीको दोस्रो तलाको हिरासत कक्षमा छन् । सबै हिरासत कक्षमा गरेर करिब २० वटा सिसिटिभी क्यामरा रहेका छन् ।
सिसिटिभीबाट रविको फोटो खिच्नेलाई विद्युतीय अपराधको कसुरमा कारबाही गर्ने प्रहरीको तयारी छ । यता रविलाई समर्थन जनाउँदै आएका आफूलाई सामाजिक अभियन्ता बनाउने डा निकोलस भुसालले उक्त फोटो आफूले खिचेको बताएका छन् । प्रहरीको छानबिनमा पनि उनैले यो फोटो खिचेर बाहिर ल्याएको पुष्टि भएमा साइबर कसुरमा पक्राउ पर्न सक्ने प्रहरीले जनाएको छ।
प्रतिक्रिया