रविविरुद्ध मुद्दा दर्ता गर्न अन्तिम तयारीमा जिल्ला सरकारी वकिल कार्यालय


काठमाडौं– सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको हिरासतको बसाई लगभग सक्किएको छ । अन्तिम पटक थपिएको म्याद आज राति १२ बजेदेखि सक्किने भएकाले उनी आइतबारसम्ममा रिहा हुनेछन् ।

यसैक्रममा रविविरुद्ध मुद्दा दर्ता गर्ने तयारीसमेत चलिरहेको छ । कास्कीस्थित जिल्ला सरकारी वकिल कार्यालयाले रविविरुद्ध मुद्दा हाल्ने प्रकृया अन्तिम चरणमा पुगेको बताएको हो ।

जिल्ला प्रहरी कार्यालयले यही पुस १ गते सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा लामिछाने, गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक छविलाल जोशी लगायतविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने सुझाव दिएको छ ।

सहकारी ठगीको छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले पूर्वगृहमन्त्री लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गर्ने काममा रविको पनि संलग्नता देखिएको भन्दै कारबाही सिफारिस गरेको थियो ।

सो प्रतिवेदन कार्यान्वयनको प्रक्रियामा गएपछि सूर्यदर्शनकै बचत ठगी प्रकरणमा गत असोज ६ गते पूर्वडिआइजीसमेत रहेका छविलाललाई काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएको थियो । यस्तै भने कात्तिक २ गते रविलाई पक्राउ गरिएको थियो । यसबीचमा उनीहरुलाई सहकारी ठगी र संगठित अपराधमा रुपन्देहीको बुटवल, चितवन, काठमाडौं र वीरगञ्जमा लगेर पनि बयान गराइएको थियो ।

संगठित अपराधमा ९० दिनभित्र मुद्दा अदालतमा पेश गरिसक्नुपर्ने व्यवस्था छ । छविलाल पक्राउ परेको दिनदेखि गनिएको ९० दिनको समय आइबारबाट सकिँदैछ । त्यसैले आज वा नभ्याए आइतबार रविविरुद्ध मुद्दा दर्ता गर्ने तयारी भएको सरकारी वकिल कार्यालय स्रोतले बताएको छ ।