काठमाडौं– अभिनेता दीपकराज गिरीले सहकारी ठगी प्रकरणमा कास्की जिल्ला प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेट गरेका छन् । उनले हिरासतमै पुगेर रविसँग भेट गरेको बताउँदै शुक्रवार फेसबुकमा स्ट्याटस लेखेका छन् ।
उनले रवि र आफ्नो पुरानो फोटो राख्दै देखेका छन्, ‘म थुनामा भेट्न गएँ उहाँलाई । प्रहरीले क्यामरा ढोका मैँ लियो, त्यसैले भित्रको फोटो खिच्न पाउने कुरै भएन । मलाई सत्तामा भएका मान्छेसँग खासै भेट्न मन लाग्दैन । त्यसैले उहाँ मन्त्री हुँदा पनि भेटघाट भएन मेरो । तर थुनामा चाहिँ भेट्न जान मन लाग्यो ।’
साथीलाई सुखमा नभई दुःखमा भेट्नुपर्छ भन्ने मान्यता अनुसार रविलाई भेट्न गएको उनले लेखेका छन् । ‘उहाँसँगको भेटमा उहाँ आत्मविश्वासी हुन हुन्थ्यो । डर, त्रास वा हीनताबोध केही थिएन,’ उनले अगाडि लेखेका छन् ।
रवि दोषी वा निर्दोष के हो भन्न नसक्ने पनि भन्दै उनले लेखेका छन्, ‘तपाई दोषी हो वा निर्दोषी, त्यो त मैले भन्ने कुरा होइन । तर, धेरै मानिसको विश्वास छ तपाई निर्दोष हुनुहुन्छ ’
रवि लामिछाने र दीपकराज गिरी तीन दशक पुराना साथीहरु हुन् । यसअघि दीपकले गत कात्तिक २४ मा काठमाडौंबाट पोखरा पुगेर रविसँग भेट गरेका थिए । सोक्रममा पनि उनले रवि आत्मविश्वासले भरिपूर्ण देखिएको बताएका थिए । आज फेसबुकमा स्टाटस लेख्दै कात्तिकमा भेट्न गएको कुरा स्मरण गरेका हुन् या पुनः हिरासतमा भेट्न गएका हुन् भन्ने विषयमा भने खुलाएका छैनन् ।
प्रतिक्रिया