नेपालमा लोडसेडिङ हुँदा रमाउने ठूलो जमात रहेको भन्दै कुलमानको असन्तुष्टी


काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक (एमडी) कुलमान घिसिङले नेपालमा लोडसेडिङ हुँदा रमाउने ठूलो जमात रहेछ भन्ने पुष्टि भएको बताएका छन् । आज (शुक्रबार) काठमाडौंमा आयोजित पूर्वाधार पत्रकार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्युत प्राधिकरण घाटामा जाँदा खुसी हुने जमात रहेको पुष्टि भएको बताएका हुन् ।

‘नेपालमा लोडसेडिङ हुँदा खुसी मनाउने एउटा जमात रहेछ भन्ने उदाहरण केही दिनबाट मैले हेरिरहेको छु । विद्युत प्राधिकरण नाफामा गयो भन्नासाथ खुसी नहुने, घाटा भयो भन्नासाथ एकदमै खुसी हुने जमात पनि छ,’– उनले भने ।

विगतमा २०÷२२ घण्टा जनतालाई लोडसेडिङमा पारेर उद्योगहरुले प्रयोग गरेको विद्युतको महशुलसमेत नतिरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । अहिले प्राविधिक कारणले दुई÷चार दिन समस्या आउँदा तिनै जमातले लोडसेडिङ घोषणा भएको हल्ला गरिएको उनले बताए । एमडी घिसिङले नेपालमा लोडसेडिङ नभएको र नहुने पनि बताए । ‘नेपालमा लोडसेडिङ हुँदैन, भएको छैन । अहिलेको केही समयको प्राविधिक समस्या हो,’– उनले भने ।