काठमाडौँ- जब महिला गर्भवती हुन्छिन्, त्यही बेलादेखि नै भावी सन्तानको नाम के राख्ने भन्ने विषयमा सल्लाह सुरु हुन्छ । एउटाले सोचेको नाम अर्कोलाई मन नपर्दा दम्पतीहरुमा सानो तिनो झगडा नै पर्छ । उनीहरु आफैले चाहेको नाम नै आफ्नो सन्तानको राख्नलाई भरसक प्रयास गर्छन । तर भारतको कर्णाटकमा भने बच्चाको नाम के राख्ने विषयमा श्रीमान श्रीमतीबिच कुरा नमिल्दा परेको झगडाले उग्र रुप लिएको छ ।
छोराको नाम के राख्ने भन्ने विषयमा झगडा चर्किँदै गएपछि दम्पती अदालतमै पुगेका हुन् । उनीहरु छोराको नाम के राख्ने भन्ने विषयमा सुरु भएको झगडा बढेर सम्बन्ध विच्छेद गर्नु पर्ने स्थितिमै पुगे । यसको सुरुवात सन् २०२१ मा भएको थियो । नाम नखुलाइएको ती महिलाले छोरालाई जन्म दिइन् । केही हप्ता सुत्केरी बस्न माइत गएकि थिइन्। त्यहीँ छोराको नाम राखिएको थियो
चलन अनुसार माइत गएकी श्रीमती र बच्चा लिन श्रीमान् ससुराली जाने चलन छ । त्यहि चलनअनुसार सुत्केरी श्रीमतीलाई लिन जाँदा छोराको लागि रोजेको नाम श्रीमानलाई मन परैको थिएन । त्यसपछि रिसाएर श्रीमतीलाई घर नलिइ ससुरालीबाट फर्किएका श्रीमान फेरी सुत्केरी श्रीमतीलाई लिन ससुराली नै गएनन् । महिलाले आफ्नो नामको पहिलो अक्षर र श्रीमानको नाममा आएको अक्षर मिलाएर छोराका नाम आदि राखिदिएकी थिइन् ।
दिन बित्दै गयो । दिन महिनामा बित्यो । महिना वर्षमा बिते । महिला ३ वर्षदेखि माइतीमै थिइन् । श्रीमान् लिन नआएपछि महिला श्रीमानबाट गुजारा भत्ता माग्दै स्थानीय जिल्ला अदालतको ढोका ढकढकाउन पुगिन् ।
छोराको नामबाट सुरु भएको विवाद बढेर सम्बन्ध विच्छेदसम्म पुगेको महिलाको वकिलले बीबीसी हिन्दीसँग भनेका छन् । मुद्दा सुरुमा स्थानीय अदालतमा दायर गरिएको थियो । पछि मध्यस्थताबाट सुल्झाउन यसलाई लोक अदालत अर्थात् पिपुल्स कोर्टमा सारियो ।
दम्पति मिल्छन् कि भनेर न्यायाधीशले कयौँ नामहरू सुझाव दिएका थिए तै पनि दम्पती आ–आफ्नै अडानमा अडिग थिए । अन्ततः दुवैले छोराको नाम आर्यवर्धन राख्न सहमति गरे । त्यसपछि अदालतमै दम्पतीले एक अर्कालाई माला लगाइदिए अनि एकैसाथ आफ्नो घर फर्किए ।
प्रतिक्रिया