रवि लामिछानेविरुद्ध आइतबार मुद्दा दर्ता गरिँदै, जिबी राईविरुद्ध भने आजै मुद्दा दर्ता


काठमाडौं– सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध आज अदालतमा मुद्दा दर्ता नहुने भएको छ । रवि लामिछाने, पूर्व डिआइजी छविलाल जोशीसहित ५ जनाविरुद्ध आइतबारमात्रै मुद्दा दर्ता हुने भएको हो ।

सहकारी ठगी प्रकरणमा जीवी राईसहित १९ जनाविरुद्ध भने आजै कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले पहिलो चरणमा पक्राउ पुर्जी जारी भएका १९ जनाविरुद्ध मुुद्दा दर्ता लागिएको हो ।

बचतकर्ताले दिएको उजुरीका आधारमा प्रहरीले गत साल २४ भदौमा पक्राउ पुर्जी जारी गरेको थियो । सूर्यदर्शन सहकारीका उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे), प्रमोद भट्टराई, अनुज नकर्मी, भविश्वर अर्याललगायत पुर्पक्षका लागि थुनामै छन् ।

सुरुमा पक्राउ पुर्जी भएका १९ जनामध्ये सहकारीका पूर्वअध्यक्ष जीबी राई, उनकै दाइ भूपेन्द्र, अहिलेका अध्यक्ष तथा व्यवस्थापकसमेत रहेका थानबहादुर बुढा, धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, सुरज श्रेष्ठ, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ फरार छन् । सृष्टि मानन्धर, ऋण अधिकृत बुद्धि गुरुङ पनि फरार छन् ।

त्यसपछि आइतबार प्रहरी हिरासतमा रहेका रवि, छविसहित जीवीका साझेदार नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, लिला पछाईं र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङको मुद्दा दर्ता हुने भएको छ ।

हिरासतमा रहेका उनीहरुको लामो अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालयले यही पुस १ गते सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा लामिछाने, गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक छविलाल जोशी लगायतविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने सुझाव दिएको छ ।

सहकारी ठगीको छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले पूर्वगृहमन्त्री लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गर्ने काममा रविको पनि संलग्नता देखिएको भन्दै कारबाही सिफारिस गरेको थियो ।

सो प्रतिवेदन कार्यान्वयनको प्रक्रियामा गएपछि सूर्यदर्शनकै बचत ठगी प्रकरणमा गत असोज ६ गते पूर्वडिआइजीसमेत रहेका छविलाललाई काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएको थियो । यस्तै भने कात्तिक २ गते रविलाई पक्राउ गरिएको थियो । यसबीचमा उनीहरुलाई सहकारी ठगी र संगठित अपराधमा रुपन्देहीको बुटवल, चितवन, काठमाडौं र वीरगञ्जमा लगेर पनि बयान गराइएको थियो ।

संगठित अपराधमा ९० दिनभित्र मुद्दा अदालतमा पेश गरिसक्नुपर्ने व्यवस्था छ । छविलाल पक्राउ परेको दिनदेखि गनिएको ९० दिनको समय आइबारबाट सकिँदैछ । त्यसैले आइतबार रविविरुद्ध मुद्दा दर्ता गर्ने तयारी भएको सरकारी वकिल कार्यालयले बताएको छ ।

यसैक्रममा बुधबारदेखि सामाजिक सञ्जालमा रवि लामिछानेको हिरासतमा सुतिरहेको अवस्थाको फोटो भाइरल भइरहेको छ । सो पछि हिरासतमा गोपनियता नभएको भन्दै प्रहरी प्रशासनको विरोध भइरहेका छन् ।

यता रविलाई समर्थन जनाउँदै आएका आफूलाई सामाजिक अभियन्ता बनाउने डा निकोलस भुसालले उक्त फोटो आफूले खिचेको बताएका छन् । यस वियामा छानबिन गर्न गण्डकी प्रदेश तालिम केन्द्रका प्रमुख एसएसपी मुकुन्द मरासिनीको नेतृत्वमा ४ सदस्यीय छानबिन समिति गठन भएको छ ।