बर्षको प्रतिक्षित एक्सन फिल्म ‘आउटलः दफा २१९’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । यो फिल्म अब फागुनको २९ गतेबाट फागु पूर्णिमाको अवसरमा रिलिज हुने पक्का भएको छ ।
विक्की महर्जनको निर्देशन तथा अमित अग्रहरिको निर्माणमा तयार भएको यो फिल्मको सार्वजनिक नयाँ पोष्टरमा नायक सुशील श्रेष्ठको एङ्ग्री अवतार हेर्न सकिन्छ । हातमा हतियार बोकेर बसेका सुशीलको अनुहारमा रगतको छिटा देख्न सकिन्छ ।
फिल्ममा सुशीलको साथमा शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, सोनी लगुनको अभिनय छ ।
विनोद कठायत कार्यकारी निर्माता रहेको यो फिल्ममा विकास चौधरी सह–निर्माताको रुपमा छन् । फिल्ममा नविन गुरुङको डीओपी, साहिल खानको सम्पादन, विक्की महर्जनको लेखन, चुल्ठे काजीको एक्सन छ ।
फिल्मको निर्माणपक्षले नयाँ एक्सनको दृश्य खिच्नका लागि समय लगाएका कारण यसको प्रदर्शन मिति तोक्न केही समय लागेको हो । नयाँ एक्सनको दृश्य खिच्नका लागि ४० लाख खर्च भएको निर्माणपक्षको भनाई छ । फिल्मबाट नायक सुशिल श्रेष्ठको बलियो कमब्याक हुने अपेक्षा गरिएको छ ।
नेपालमा एक्सन जनराका फिल्मले दर्शकको साथ पाइरहेको समयमा सुशीलको यो फिल्मले पनि सुखद व्यापार गर्ने आँकलन धेरैको छ ।
प्रतिक्रिया