विवेग पंगेनीको अमेरिकामा नै भयो अन्तिम बिदाई, सम्हालिइनन् सिर्जना


काठमाडौं– नेपाली समाजमा साँचो प्रेमको अमर उदाहरण बनेर अस्ताएका युवा विवेक पंगेनीको अन्तिम दाहसंस्कार भएको छ ।

लामो समयदेखि चौँथो स्टेजको क्यान्सरसँग पीडित भएको विवेकको डिसेम्बर १७ तारिखमा न्यूयोर्कमा उपचारको क्रममा मृत्यु भएको थियो । उनै विवेकको पत्नी सिर्जन सुवेदी, बुबा पिता मिनराज पंगेनीसहित परिवारजन, साथीभाइ र न्यूयोर्क क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका व्यक्तिहरू उपस्थितीमा अन्तिम संस्कार गरिएको हो ।

नेपाली समय अनुसार राति ९ः४५ बजे न्यूफिल्डआइएनसिमा उनको दाहसंस्कार गरिएको थियो। १२ः४५ मा फ्रेस पोन्डक्रेमेटेसनमा एक श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो।

केही बर्ष अगाडि अमेरिकाको जर्जिया राज्यमा पिएचडी गर्न गएका बर्दिया निवासी विवेक पंगेनी आफ्ना ब्रेन क्यान्सरको शल्यक्रिया गरिसकेपछि थप उपचारका लागि विगत ५ महिनादेखि न्यूयोर्कमा रहि आएका थिए। क्यान्सरसँग लडिरहेका श्रीमानलाई बचाउन पत्नी सिर्जना सुबेदीले निकै संघर्ष गरेकी थिइन् ।

उनले टिकटकमा सेयर गरेका मर्मस्पर्शी देखिने भिडियोहरुसँगै उनको संघर्षमा धेरैले सहानुभुति दिएका थिए । श्रीमान मृत्युसँग लडिरहँदा पनि सिर्जनाले देखाएको त्याग र समर्पणका कारण उनीहरुको प्रेमलाई आदर्श प्रेमको रुपमा धेरैले हेरेका थिए ।

विवेक बिरामी हुनुभन्दा अगाडि नै टिकटकबाट विवेक र सिर्जनाको जोडी चर्चित थियो । सिर्जनाले स्टेप मिलाएर गितमा नाचिरहँदा ताल नमिलेको विवेकको नाच मानिसहरुले खुबै रुचाउँथे ।

अध्ययनमा निकै अब्बल विवेक २०७९ सालमा भौतिकशास्त्रमा पीएचडी गर्नलाई पूर्ण छात्रावृत्तीमा अमेरिका गएका थिए । उनी अमेरिका अध्ययनका लागि पुगेको ५ महिनापछि नै उनको आमाको निधन भएको थियो । त्यसपछि आमाको अन्तिम संस्कारका लागि नेपाल आइपुगेका विवेक आफैमा बज्रपात पर्यो । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल जाँदा उनलाई ब्रेन क्यान्सर भएको पत्ता लाग्यो, त्यो पनि चौँथो स्टेजको ।

ब्रेन क्यान्सर भएको थाहा भएको भोलीपल्ट नै उनीहरु अमेरिका गएका थिए । त्यहीँ नै अस्पतालमा उनको उपचार सुरु भयो । सुरुमा दुईवटा शल्यक्रिया गरेर ७० प्रतिशत ट्युमर निकालिएको थियो । बाँकी उपचार किमोथेरापी र रेडियसनमार्फत लामो समयदेखि भइरहेको थियो ।

त्यसपछि सिर्जनाले आफ्नो श्रीमानको स्वास्थ्य अवस्थाको बारेमा सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन् । त्यहाँ उनीहरुको रमाइलो नृत्यभन्दा पनि भावुक भिडियोहरु सार्वजनिक हुन थाले । उनीहरुको भिडियो हेरेर सामाजिक सञ्जालबाटै विवेकको उपचारको लागि १ लाख २ हजार डलरभन्दा बढी रकमसमेत संकलन भएको थियो ।

विवेक अमेरिकामा मृत्युसँग संघर्ष गरिरहँदा केहि महिनाअघि मात्र नेपालमा उनका भाइ विवेक पंगेनीको दुर्घटनामा निधन भएको थियो । भदौ २१ गते शुक्रबार तीजको दिन मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको थियो । भाइ अस्ताएको चार महिनापछि दाइको मृत्यु भएको हो ।

यता दुई वर्षको फरकमा नै श्रीमती र दुई छोरा गुमाएका विवेकका पिता मिनराज पंगेनीमाथी ठूलो बज्रपात परेको छ । श्रीमती र कान्छो छोराको अन्तिम संस्कार आफ्नै हातले गरेका उनी अमेरिकामा पुगेर जेठो छोराको पनि दाहसंस्कारमा सामेल भएका छन् ।