ब्राजिलको मिनास गेराइसमा बस–ट्रक ठोकिँदा ३८ जनाको मृत्यु


काठमाडौँ- दक्षिणपूर्वी ब्राजिलको मिनास गेराइस राज्यको एक राजमार्गमा बस र ट्रक एक आपसमा ठोक्किँदा ३८ जनाको मृत्यु भएको हो । शनिबार बिहानको यस घटनामा अन्य धेरै घाइते भएको जनाएको छ । अधिकारीहरूका अनुसार दुर्घटनापछि अन्य १३ जना घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको थियो भने साओ पाउलोबाट हिँडेको बसमा ४५ जना यात्रुहरू सवार थिए ।

बसको टायर फुट्दा चालकले नियन्त्रण गुमाएपछि बस ट्रकसँग ठोक्किएको बताइएको छ । सञ्चार माध्यमहरूमा छापिएका खबरअनुसार केही प्रत्यक्षदर्शीहरूले ग्रेनाइटको टुक्रा बसमा ठोक्किएको पनि बताएका छन्। यसका कारण तीन यात्रु सवार अर्को कार पनि बससँग ठोक्किएको थियो । तर कारमा सवार सबै यात्रुको सकुशल उद्धार भएका छन् ।

यस वर्षको अहिलेसम्मको अवधिमा ब्राजिलमा ट्राफिक दुर्घटनाका कारण १० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको यातायात मन्त्रालयको तथ्याङ्कले उल्लेख गरेको छ ।