रविविरुद्ध २७ करोड ८९ लाख रुपैयाँ बिगो दाबी


काठमाडौं– कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी आरोपमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसहित ३१ जनाविरुद्ध अभियोगपत्र दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आज लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । प्रतिवादीहरुविरुद्ध कूल १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो दाबी रहेको छ ।

मुद्दा दायर भएका ३१ जना मध्ये रास्वपा सभापति लामिछानेविरुद्ध २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो माग दाबी गरिएको छ । उनीविरुद्ध फरक फरक तीन कसुरमा मुद्दा दायर भएकोमा सम्पत्ति सुद्धीकरणमा सो बराबरको बिगो माग दाबी गरिएको छ ।

त्यस्तै रविका पूर्व व्यापारिक साझेदार तथा नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीविरुद्ध ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा बिगो माग दाबी गरिएको छ ।

यस्तै रवि लामिछानेपत्नी निकिता पौडेललाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । पौडेललाई सम्पत्ति जफत गर्ने प्रयोजनको लागि प्रतिवादी बनाएर कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो । सम्पत्ति जफत प्रयोजनको लागि उनीसहित ५ जनालाई प्रतिवादी कायम गरिएको छ ।

सम्पत्ति जफतका लागि निकितासँगै पद्‌मा बन्जाडे, रोचक जोशी, राधा पछाई, मिना पछाईलाई प्रतिवादी बनाइएको अभियोग पत्रमा उल्लेख छ। उनीहरूको हकमा अदालतबाटै कानुन बमोजिम हुने भनिएको छ।