रविको सांसद पद निलम्बनमा पर्ने


काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको छ । रविविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा परेकाले सोही मुद्दाको आधारमा उनको सांसद पद निलम्बनमा पर्ने भएको हो ।

कास्की जिल्ला न्यायाधीवक्ता कमला काफ्लेका अनुसार सम्पत्ति शुद्धीकरण ऐनअनुसार रवि लामिछानेको सांसद पद स्वतः निलम्बन हुने भएको हो ।

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ (संशोधनसहित)को दफा (२७) बमोजिम रविको सांसद स्वतः निलम्बन हुने भएको हो ।

‘प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ,’ ऐनमा भनिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि २७ करोड ८९ लाख रुपैयाँभन्दा बढी गैरकानुनी रुपमा आर्जन गरेको भन्दै आइतबार मुद्दा दायर भएको छ । रविसँगै पत्नी निकिता पौडेललाई पनि मुद्दा दायर गरेको हो ।