छविको बयानः जिबिले पैसा ल्याए, रविले खर्च गरे


काठमाडौं– पूर्व डिआइजी छबिलाल जोशीले गोर्खा मिडिया नेटवर्कबाट भएको सहकारी बचत रकम अपचलन प्रक्रियामा आफ्नो संलग्नता नरहेको बयान दिएका छन् ।

कास्की प्रहरीले दर्ता गरेको पुरक अभियान पत्रमा उल्लेख बयानमा जोशीले सहकारीबाट पैसा ल्याउने कुनैपनि प्रक्रियामा आफू संलग्न नरहेको दाबी गरेका हुन् । उनले जिबि राईले पैसा जुटाउने र रवि लामिछानेले खर्च गर्ने गरेको बयान दिएका छन् । ‘ ‘गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडको बैंकको खातामा रकम जुटाउने कार्य गितेन्द्र बाबु राईबाट र बैंकमा मौज्दात रहेको रकम खर्च गर्ने कार्य रवि लामिछानेले गर्ने गरेको’, जोशीको बयान छ ।

उनले ग्यालेक्सी टीभी सञ्चालनमा आफ्नो भुमिका नरहेको र कहाँबाट पैसा आयो भन्ने पनि थाहा नभएको बयान दिएका छन् । तर यसप्रकृयामा रवि र जिबिको संलग्नता रहेको उनले बयान दिएका छन् । ‘निज गितेन्द्र बाबु राईले के कहाँबाट, कुन कुन तवरले रकम कम्पनीमा ल्याई सञ्चालन गरेका थिए मलाई थाहा भएन’ जोशीको बयान छ, ‘टिभी सञ्चालनमा आएपछि आवश्यक रकम जुटाउने कार्य गितेन्द्र बाबु राईले गरेका र टिभी सञ्चालनको लागि भवन निर्माण, डोकोरेशन, स्याटलाइट जडित अध्याधुनिक क्यामेरा लगायतको विभिन्न सामग्री खरीद, कर्मचारी र पत्रकारहरुको छनोट, नियुक्त, तलबको मापन ललगायतको सम्पूर्ण कार्य गितेन्द्र बाबु राई र रवि लामिछानेबाट भएको ।’