श्रीमान् विदेशमा हुनुहुन्छ, म कसरी आमा बन्छु र ? : एलिना चौहान



गायिका एलिना चौहानले आफ्नो अहिले आमा बन्ने कुनै योजना नरहेको बताएकी छिन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले रमाइलो गर्दै भनिन्–‘श्रीमान् नै विदेशमा हुनुहुन्छ, म कसरी आमा बन्ने हो र ?’

गायिका चौहानले मिडियाकर्मीलाई यस्तो प्रश्न नगर्न पनि आग्रह गरिन् । आफ्नो सासु आमाले समेत भिडियो हेर्ने भन्दै यस्तो प्रश्नले आफूलाई लाज लागेको तर्क गरिन् ।

एलिनाले आफ्नो श्रीमानसँग झगडा नै नपर्ने नभएको बताइन् । भनिन्–‘कामको कुरामा मलाई निकै साथ दिनुहुन्छ । तर, दुई जनाको झगडा नै नपर्ने भन्ने होइन ।’

एलिनाले कहिलेकाही आफूलाई बिहे भएको जस्तो नै नलाग्ने बताइन् । भनिन्–‘म त कहिलेकाही बिहे भएको छ र भन्ने नै विर्सन्छु । कहिलेकाही कसैले भाउजु भन्यो भने पनि झसङ्ग हुन्छु । हामी पहिलेदेखि नै बोल्थ्यौं । यसैले, अहिले भने प्रेमी प्रेमिका नै हो जस्तो लाग्छ ।’

गायिका चौहानले उमेर पनि अब बुढो भयो, जे पायो त्यही जवाफ दिन पनि भएन भन्दै धेरै प्रश्नको उत्तर दिन आनाकानी गरिन् । एउटै बोलीले गर्दा फरक पर्ने भन्दै उनले बोलीमा ध्यान दिनुपर्ने बताइन् ।

कहिलेकाही मिडियाले आफूले भन्न खोजेको कुरा मिलाएर भन्न नजान्दा बिवादमा आएको भन्दै अब बोलीमा ध्यान दिने तर्क गरिन् ।