रविले ‘स्वेट शेयर’ भनेर लिएको पैसा सहकारीकै, रास्वपा खोलिसकेपछि पनि काटेका थिए गोरखा मिडियाको चेक


काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी संस्थाको रकम अपचलन गरेर गोरखा मिडिया नेटवर्कको शेयर खरिद गरेको दाबी गरेको छ ।

रविले आफ्नो ‘पपुलारिटी’का कारण गोरखा मिडियाको श्वेट शेयरबापत १५ प्रतिशत शेयर पाएको बताउँदै आएका छन् । उक्त शेयर ‘स्वेट शेयर’ नभई सहकारीको पैसाले किनेको पुष्टि भएको प्रहरी प्रतिवेदनमा उल्लेख छ । पूर्वगृहमन्त्री समेत रहेका लामिछानेविरुद्ध आइतबार जिल्ला अदालत कास्कीमा दर्ता गरिएको अभियोग पत्रमा लामिछानेले सहकारीको पैसा विभिन्न खातामा राखेर सोही रकमबाट शेयर लिएको उल्लेख छ ।

‘यी प्रतिवादीहरूले सहकारीको रकम विभिन्न खातामा जम्मा गरी÷गराई सोही रकमबाट कानूनले नै परिकल्पना नगरेको श्वेट शेयर लिएको देखिन्छ । उक्त तथ्य जीबी ग्रुप अफ कम्पनिज प्राइभेट लिमिटेडबाट बरामद भएको कम्पनी ओभरभ्युबाट पनि पुष्टि हुन्छ,’ अभियोजन पत्रमा भनिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको स्थापना गरेर सक्रिय राजनीतिमा आउनुपूर्व लामिछाने गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक थिए । लामिछानेले अपराधबाट बच्नका लागि श्वेट शेयरको कुरा गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

‘निजले बयान गर्दा श्वेट शेयरमार्फत ७५ लाख गोरखा मिडिया नेटवर्कमा जम्मा गरेको भन्ने उल्लेख गरेकोमा त्यस्तो शेयरको कानूनी व्यवस्था नभएको, तलबबापत शेयर दिने सम्बन्धमा कम्पनीको प्रबन्धपत्र नियमावलीमा समेत व्यवस्था नभएबाट यसरी प्राप्त रकमबाट कम्पनीको शेयर धारण गरेको भनी अपराधबाट बच्नका लागि झुटा विवरणको बयान दिएको देखिन्छ,’ अभियोग पत्रमा भनिएको छ ।

सहकारीको रकमलाई आफ्नो लगानी भनेका लामिछानेले त्यो बीचमा आफ्नो तलबबाहेकको ठूलो रकम कम्पनीबाट पेस्की तथा ऋण शीर्षकमा लगेको भेटिएको छ । उनी गोर्खा मिडियामा आबद्ध रहेको अवधिमा तलब भत्ताबापत ९० लाख ३१ हजार आम्दानी भएकामा उनले तलबबाहेक २ करोड रुपैयाँ आफ्नै नाममा पेस्की लगेको पनि अनुसन्धानबाट खुलेको छ ।

यस्तै रविले गोरखा मिडिया छाडेपछि पनि उनैको हस्ताक्षरमा चेक काटिएको तथ्य प्रहरीले फेला पारेको छ ।

२०७९ असार १ मा गोर्खा मिडिया नेटवर्क छोडेको घोषणा गरेका लामिछानेले असार ७ मा राष्ट्रिय सभागृहमा कार्यक्रम गरेर पार्टी घोषणा गरेका थिए । सुशासनको अभियानसहित राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेको पाँच दिनपछि असार १२ मा उनले गोर्खा मिडिया नेटवर्कको खाताबाट ७१ लाखको चेक काटेको र त्यसमध्ये आफ्नै नाममा पनि ९ लाख ८५ हजार ७ सय ४९ को चेक काटेर रकम लिएको भेटिएको छ । उनले कम्पनी छोड्नुअघि र पछि काटेका चेक पनि प्रहरीले अदालतमा पेस गरेको छ । गोरखा मिडियाले सञ्चालन गरेको ग्यालेक्सी फोरके टीभी अहिले बन्द छ ।

यद्यपी गोरखा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका लामिछानेले आफूले चेक काटे पनि सो रकम कहाँबाट आएको भन्ने थाहा नभएको दाबी गर्दै आएका थिए । आफ्नै हस्ताक्षरमा चल्ने खातामा कहाँबाट पैसा आयो, थाहा छैन भन्नु लामिछानेको बदनियत रहेको अभियोग पत्रमा उल्लेख छ ।

‘आफू समेत खाता सञ्चालक रहेको गोरखा मिडिया नेटवर्कको खातामा के कसरी र कहाँबाट रकम आयो, जानकारी छैन भन्ने विषयले प्रतिवादीको बदनियत देखिन्छ,’ अभियोग पत्रमा उल्लेख गरिएको छ ।

सहकारी ठगीको अनुसन्धानका लागि लामिछाने कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् । उनीविरुद्ध प्रहरीले पुस ७ गते जिल्ला अदालत कास्कीमा मुद्दा अभियोजन गरेको छ । सहकारी ठगी र सम्पत्ति शुद्धीकरण समेत गरी लामिछानेविरुद्ध ३१ करोड २६ लाख माग दाबी गरिएको छ । सहकारी ठगीमा १० वर्षसम्म र सम्पत्ती शुद्धिकरणमा पाँच वर्ष गरि अधिकतम १५ सम्मको कैद सजाय हुनुपर्ने मागदावी सहित अभियोग पेश भएको हो ।

यस्तै रविकी पत्नी निकिता पौडेललाई प्रतिवादी बनाएर मुद्दा दायर भएको छ । पौडेललाई सम्पत्ति जफत गर्ने प्रयोजनको लागि प्रतिवादी बनाएर कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो ।