काठमाडौं– सोमबार बिहान भक्तपुरमा बाबु छोरा मृत भेटिए । ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका कान्छा छोरा २२ वर्षका प्रविन आचार्य मृत फेला परेका हुन् ।
बाबुछोरा मृत भेटिएपछि प्रहरीले कुलप्रसादका जेठो छोरोको खोजी थालेको छ । खोटाङको जिल्ला हुलाक कार्यालय दिक्तेलका निमित्त प्रमुख समेत रहेका नायब सुब्बा आचार्य खोटाङबाट गत पुस २ गते काठमाडौं आएका थिए । उनी बाल्कोटमा रहेको छोराहरुको डेरामा बस्दै आएका थिए । २ वटा कोठा डेरा लिएकोमा बाबु र कान्छा छोरा छुट्टाछुट्टै कोठामा मृत फेला परेका हुन् । तर दुवै कोठामा ताल्चा लगाइएको थियो भने दुवैको शरिरमा चोटपटक देखिएको छ । घटनाको अवस्था हेर्दा हत्या भएको आशंका प्रहरीले गरेको छ ।
कुलप्रसादसँगै कान्छा छोराको शव भेटिएका २२ वर्षका प्रविन आचार्य मृत फेला परेपनि जेठा छोरा मिलन आचार्य भने सम्पर्कविहीन छन् । उक्त डेरामा मिलन र प्रविन बस्दै आएका थिए ।
सोही घरमा डेरा गरि बस्नेहरुले आइतबार पनि कोठाको ताल्चा नखुलेको बयान दिएका छन्। उक्त बयानअनुसार प्रहरीले हत्या शनिबार नै भएको हुनसक्ने बताएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी ढुण्डिराज नेउपानेले जेठो छोरो मिलन सम्पर्कमा आएपछि घटनाबारे थप जानकारी बाहिर आउने बताए ।
बाबुछोराको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ । तालिमप्राप्त कुकुरसहित घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृत कुलप्रसादका दुई छोरा र दुई छोरी हुन् । जेठी छोरी नायव सुब्बा छन् भने कान्छी अस्ट्रेलियामा बस्छिन् ।
प्रतिक्रिया