काठमाडौं– भक्तपुरको सूर्यबिनायक नगरपालिका–२ स्थित बालकोटमा मृत भेटिएका कुल प्रसाद आचार्य र छोरा प्रबिन आचार्यलाई जेठा छोराले नै हत्या गरेको पुष्टि भएको छ । बुवा र भाइको ‘हत्या मैँले गरेको हुँ’ भन्दै कुलप्रसादका जेठा छोरा मिलन आचार्यले प्रहरीमा आत्मसमर्पण गरेका छन् ।
उनले आत्मसमर्पण गरेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोधपुछ गरिरहेको छ। सोधपुछको क्रममा उनले बुबा र भाइको हत्यापछि आफूले पनि आत्महत्याको प्रयास गरेको तर असफल भएको उनले बताएका छन् ।
प्रहरीको प्रारम्भिक बयानमा मिलनले आफूले धेरै पटक लोक सेवा आयोगको परीक्षा दिए पनि सफल हुन नसकेको समेत बताएका छन्। ‘मैले धेरै पटक लोक सेवा आयोगमा परीक्षा दिएँ तर ५–६ पटकसम्म फेल भएँ,’ मिलनले भनेका प्रारम्भिक बयानबारे जानकारी दिँदै प्रहरी स्रोतले भन्यो, ‘बुवा पनि बिरामी हुनुहुन्थ्यो, भाइ पनि केही काम गर्दैनथ्यो, पढ्दै थियो।’
बाबु कुलप्रसाद आचार्य खोटाङमा हुलाक कार्यालयका कर्मचारी थिए । आम्दानी त्यति ठूलो नभएपनि उनले दुई छोरालाई भक्तपुरमा डेरामा राखेर पढाएका थिए । आर्थिक अभावले घेरिएका कुलप्रसादले पनि खोटाङमा आत्महत्याको प्रयास गरेका थिए
भाइ प्रवीण सधैंजसो राति १०÷११ बजे कोठा आएर सुत्ने र बिहान १०÷११ बजे मात्र उठ्ने दिनचर्याले आजित भएको उनले बयान दिएका छन् ।
‘सानो व्यापार गर्छु भन्दा पैसा भएन । लोकसेवाको परीक्षामा पनि जहिल्यै असफल भएँ । भाइले खोजेर काम गरेन, राति अबेर सुत्ने र बिहान अबेर उठ्ने बानी ठीक लागेन । धेरै तनाव भयो, बरु बाबु र भाइलाई मारेर आफू पनि आत्महत्या गरेर मर्छु भन्ने सोच मनमा पलायो र दुवैको हत्या गरें ।’
मिलनले भक्तपुरको बिरुवामा पुगेर आत्महत्या प्रयास पनि गरेको प्रहरीलाई बयान दिएका छन् तर, रुखको हाँगो भाँचिएपछि मर्न नसकेको उनी बताउँछन् ।
आफू पनि मर्न नसकेको र बाबु र भाइको हत्या गरेर आफू फरार भएको समाचार छरपस्ट भएपछि आत्मग्लानि भएको उनले बताएका छन् । आत्मग्लानीका कारण प्रहरीकोमा आत्मसमर्पण गरेको उनले बयान दिएका छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बालकोटस्थित डेरामा सोमबार विहान ५६ वर्षीय कूलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीण मृत भेटिएका थिए । उनीहरुलाई मिलनले ‘डमबेल’ र सिलौटोले हानेर हत्या गरेका हुन् । उनीहरु सोमबार बिहान छुट्टाछुट्टै कोठाभित्र चुक्कुल लगाइएको अवस्थामा मृत भेटिएका थिए ।
हत्याभन्दा अघिल्लो राति भने बुबा र भाईसँगै मिलनले पनि खानपिन गरेर सुतेका थिए । मिलनले छिमेकीलाई समेत एक कचौरा मासु चाख्न दिएका थिए । आचार्य परिवार खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढीका बासिन्दा हुुन् । कुलप्रसाद खोटाङ जिल्ला हुलाकका निमित्त प्रमुख थिए । उनी अफिसमा विदा लिएर छोराहरु भेट्न केहिदिन अघिमात्र काठमाडौं आएका थिए ।
प्रतिक्रिया