सामाजिक सञ्जालमा राप्रपाका नेताले अरु पार्टीको पोस्ट लाइक, सेयर गर्न नपाउने


काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका नेता तथा कार्यकर्ताप्रति सामाजिक सञ्जालमा जथाभाबी लेख्न नदिन कार्यविधि ल्याएको छ । उक्त कार्यविधिमा राप्रपाका नेता कार्यकर्ताले सामाजिक सञ्जाल चलाउँदा प्रतिस्पर्धी पार्टी, व्‍यक्ति वा समूहले पार्टीलाई हित नहुने विषयको सामग्री शेयर गर्ने, लाइक गर्ने, रिट्विट गर्न नहुने उल्लेख छ ।

कार्यविधिको परिच्छेद १० को (ग) मा भनिएको छ, ‘सदस्यले प्रतिस्पर्धी पार्टी, व्‍यक्ति वा समूहले पार्टीलाई हित नहुने विषयको सामग्री शेयर गर्ने, लाइक गर्ने, रिट्विट गर्न हुँदैन।’ साथै कार्यविधिमा राप्रपाले पार्टीको पद उपयोग गर्दा सामाजिक सञ्जालमा छद्म नाम प्रयोग गर्न नहुने व्यवस्था राखेको छ ।

पार्टीको निर्णय, विचार, मूल्य मान्यता, आदर्श र नीतिहरूलाई जनतामाझ पुर्‍याउने विषय पनि समेटेर सामाजिक सञ्जाल कार्यविधि ल्याइएको हो ।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार व्यवस्थित र मर्यादित सामाजिक सञ्जाल सञ्चालन र प्रसारित सामाग्रीमा एकरुपता कायम गर्न, भ्रामक सामग्रीलाई निरुत्साहित गर्न, पार्टीको सामाजिक सञ्जाल रणनीतिको माध्यमबाट पार्टीलाई संगठित र व्यवस्थित गर्न केन्द्रीय प्रचार विभागले प्रस्तुत गरेको ‘सामाजिक सञ्जाल सञ्चालन तथा व्यवस्थापन कार्यविधि–०८१’ लाई केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुमोदन गरेको हो ।

उनले भने, ‘कार्यविधिमार्फत सामाजिक सञ्जालको प्रयोगबाट पार्टी र आम जनसमुदायबिच सन्तुलित, स्वस्थ र मजबुत सम्बन्ध विस्तार गर्दै पार्टीलाई सक्षम, सबल र विश्वसनीय बनाउन पार्टी सदस्यहरूका लागि मार्गदर्शन गर्नेछ। ’ पछिल्लो समय जथाभाबी लेख्ने प्रवृत्ति बढेकोमा पार्टीले ल्याएको कार्यविधिले मनपरी लेख्ने प्रवृत्तिको अन्त्य हुने विश्वास लिइएको छ ।