बच्चाबाट मोबाइल टाढा राख्नृ छ भने खेलकुदमा लगाउनुहोस- मन्त्री चौधरी


काठमाडौँ- युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बालबालिकालाई विद्यालय शिक्षापछिको समयमा खेलकुदमा लगाउन आग्रह गरेका छन्। किनभने जति हाम्रो लागि शिक्षा महत्वपुर्ण छ खेलकुद पनि उतिकै महत्वपुर्ण छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विद्यार्थीमा अहिले मोबाइल चलाउने प्रवृत्ति बढिरहेको भन्दै विद्यालय शिक्षापछिको दुई घण्टा खेलकुदमा लगाउन अभिभावकहरूसँग आग्रह गरेका छन् ।

खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुदले शारीरिक र मानसिक रूपमा स्वस्थ राख्नुका साथै खराब संगत गर्नबाट जोगाउने बताएका छन्। उनले खाली समयमा विद्यार्थीलाई खेलकुदका गतिविधिहरूमा संलग्न गराउन आवश्यक रहेको जनाएका छन्।

उनले भने, आजकालका विद्यार्थीमा धेरै मोबाइल चलाउने प्रवृत्ति विकास भइराखेको छ। अभिभावकहरूमा पनि धेरै मोबाइल चलाउने प्रवृत्ति विकास भएको छ। अभिभावकले त चलाए चलाए, सन्तान पनि बढी मोबाइल चलाउने भएका छन् । तपाईंका छोराछोरीहरु साँच्चै सुधार्न चाहनुहुन्छ भने, राम्रो बनाउन चाहनुहुन्छ भने हप्ताको दुई घण्टा, तीन घण्टा खेलकुदमा लगाउन आग्रह गर्दछु। शारीरिक र मानसिक रूपमा राम्रो हुन्छ नै पढाइको स्तर बढ्न सक्छ। खराब संगतमा जानसक्दैन। स्कुलपछिको दुई घण्टा खेलकुदमा लगाउनुस्।

मन्त्री चौधरीले बालबालिकालाई उनीहरूले चाहेको खेलकुदका विभिन्न विधामा खेलाउन आग्रह गरेका छन्।