खोपको कारणले शिशुको मृत्युपछि क्षतिपूर्तिको माग राख्दै सडक अवरुद्ध


काठमाडौँ- बैतडीको डिलासैनी गाउँपालिकामा एक शिशुको मृत्यु भएपछि क्षतिपूर्तिको माग राखी स्थानीयले सडक अवरुद्ध पारेका छन् । बुधबार दिउँसो खोप लगाएका शिशुको रातिको समयमा शङ्कास्पद मृत्यु भएपछि स्थानीयले गोकुलेश्वर–गन्ना–लटिनाथ सडक अवरुद्ध पारेका छन् ।

डिलासैनी गाउँपालिका–२ छेपट्टाका मुकेश रानाका दुई महिने छोरा आदर्शको शङ्कास्पद मृत्यु भएको स्थानीय ध्रुव रानाले जनाए । उनले मृतक शिशुलाई बुधबार दिउँसो १२ बजेको समयमा डिलासैनी–३ स्थित सिमार बर्थिङ सेन्टरमा खोप लगाएका थिए र खोप लगाउँदा आदर्श बिरामी भएपछि उपचारको लागि डडेलधुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

ध्रुवका अनुसार आदर्शलाई नियमित खोप कार्यक्रम अन्तर्गत डीपीटी दोस्रो डोज र पीसीभीको पहिलो डोज लगाइएको थियो । ओपीभी र रोटा डोज खुवाइएको थियो । त्यसपछि दिउँसो ३ बजेदेखि आदर्शलाई ज्वरो आएको र राति र्‍याल फाल्न थालेपछि उपचारको लागि गोकुलेश्वर अस्पताल लगिएको हो । त्यहाँ उपचार नभएपछि डडेलधुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको उनले जनाए।