काठमाडौँ- धनगढी उपमहानगरपालिका–३ को लक्ष्मी नर्सरी नजिकै सुदूरपश्चिम प्रदेश ०१–०१२ प ७११ नम्बरको मोटरसाइकललाई सुदूरपश्चिम प्रदेश ०१–२९४१६ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा बाजुराको बडिमालिका नगरपालिका–७ का धर्म खत्रीको मृत्यु भएको प्रहरीले बताए ।
खत्री सुदूरपश्चिम प्रदेश ०१०१२ प ७११ नम्बरको मोटरसाइकलको पछाडि सवार रहेको कैलालीका प्रहरी नायब उपरीक्षक डीएसपी कबिन्द्र सिंह बोहराले जनाए । गम्भीर अवस्थाका खत्रीलाई उपचारका लागि माया मेट्रो अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको बोहराले बताएका छन् ।
मोटरसाइकल चालक डोटीको शिखर नगरपालिका–११ बस्ने २५ वर्षीया शर्मिला थापा पनि घाइते भएकि छिन् । मुख र पेटमा चोट लागेकी थापाको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । पछाडिबाट ठक्कर दिने अर्को मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–३ बस्ने २५ वर्षीय पुरन शाहलाई प्रहरीले हिरासतमा लिएको छ । शाहलाई दुर्घटनामा परेका दुवै मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया