क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन स्थगित


काठमाडौँ- नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) को निर्वाचन प्रक्रियामा उमेर हदको विषयमा विवाद उठेको छ। निर्वाचनका क्रममा फर्जी प्रतिनिधिहरूको मतदान, भूगोल बाहिरका व्यक्तिहरूको मतदान, र एक प्रतिनिधिले सबैको मत हालेको जस्ता घटनाले विवादको स्थिति सिर्जना गरेको छ।

यस कारणले मत गणना स्थगित गरिएको छ। बाजुरामा १५ जना प्रतिनिधिहरू थिए भने एक प्रतिनिधिले सबैको मतदान गरेको पाइएको छ। बैतडीमा पनि एक जना प्रतिनिधिले सबै मतदान गरेपछि विवाद उत्पन्न भएको छ। रुकुम पश्चिममा भूगोल बाहिरका व्यक्तिहरूलाई मतदान गराइएको खबर छ। सिन्धुपाल्चोकमा पनि भूगोल बाहिरका कार्यकर्ताले मतदान गरेको आरोप छ।

क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनमा उमेर हद लागू गर्ने विषय उठेको थियो। यसबारे विवाद चर्किएपछि सम्मेलन स्थगित गरिएको थियो। निर्वाचनका माध्यमबाट उमेर हदको निर्णय लिने तयारी भइरहेको छ। मतगणनामा विवाद आएपछि केन्द्रीय निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानले मतगणना स्थगित गर्न सूचना दिएका थिए।
पहिलो चरणमा २ हजार ३९८ प्रतिनिधिहरू थिए, जसमा करिब १ हजार ७०० जनाले मत दिएका थिए।