नयाँ वर्षलाई स्वागत गर्दै गुरुङ समुदायले आज ‘तमु ल्होसार’ मनाउँदै


काठमाडौं, पुस १५ – आज तमु ल्होसार देशभरका गुरुङ समुदायले विविध कार्यक्रम गरी मनाउँदै छन् ।प्रत्येक वर्ष पुस १५ गते गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउने गर्दछन् । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी आजदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदै छन् । ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।

तमु संस्कृतिअनुसार पुस १५ गते खुशीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर यो पर्व मनाइन्छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा यो पर्व मनाइँदै छ । यस अवसरमा आज काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरिँदै छ ।

गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’का अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत अन्य नेताले शुभकामना व्यक्त गर्नुभएको छ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।