भीम रावलले गैरकम्युनिस्ट पार्टी बनाउने, कर्ण मल्ल र तारा जोशीलाई पनि समेट्ने


काठमाडौं । नेकपा एमालेले संगठित सदस्यता खोसेसँगै पूर्व उपप्रधान तथा गृहमन्त्री भीम रावल नयाँ पार्टी बनाउन कस्सिएका छन् । गत साता बसेको एमाले सचिवालय बैठकले रावललाई पार्टीबाट निस्कासित गरेको थियो । एमालेले पार्टीबाट निकालेपछि रावल नयाँ पार्टी गठनको तयारीमा लागेका छन् ।

एमालेले निस्कासित गरेलगत्तै रावल विभिन्न दलका नेताहरुसँग भेटवार्ता गर्नमा व्यस्त छन् । रावलले आज नेपाली कांग्रेस बीपीका उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद डा। तारा जोशीसँग भेट गरेका छन् । दुई नेताले रावल निवास टोखामै पुगेर भेट गरेका हुन् ।

मल्ल र जोशीसँगको छलफलमा रावलले वाम, प्रजातान्त्रिक समेटेर गैरकम्युनिस्ट पार्टी बनाउने बताएका छन् । आफूले परम्परागत ढाँचाका कम्युनिस्ट पार्टी गठन नगर्ने बताएका हुन्।

रावलले आगामी राजनीतिक यात्राबारे जानकारी दिन बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेका छन् । सो पत्रकार सम्मेलनबाट रावलले एमालेले गरेको कारबाही र आगामी योजनाबारे जानकारी दिने बताईएको छ । सोही दिननै नयाँ पार्टीको घोषणा हुनसक्ने स्रोतले जनाएको छ ।

पार्टी अनुशासन विपरितको गतिविधि गरेको भन्दै नेकपा एमालेको १० पुसमा बसेको स्थायी कमिटी बैठकले रावललाई पार्टीको साधरण सदस्यबाटै मुक्त गर्ने निर्णय गरेको थियो।

०७८ सालको मंसिरमा सम्पन्न एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा उठेका रावल केपी शर्मा ओलीसँग भारी मतले पराजित भएका थिए । सर्वसम्मत रुपमा उपाध्यक्ष बन्न गरिएको प्रस्ताव अस्वीकार गर्दै अध्यक्षमा उम्मेदवारी दिएका रावल त्यसयता एमाले नेतृत्वको किनारामा पर्दै आएका थिए ।