ओलीलक्षित अभिव्यक्तिः अब कुनै बहादुरले चाहेर संसद् भंग हुँदैन’ कांग्रेस महामन्त्री शर्मा


काठमाडौं, १६ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशको राजनीतिक पद्धति स्थिर भइसकेको दाबी गरेका छन् । आज (मंगलबार) पूर्वकर्मचारी समाज नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सम्मानीत सर्वोच्च अदालतको ब्याख्याअनुरुप अब ५ वर्षसम्म कुनै बहादुरले चाहेर संसद् भंग गर्न नसक्ने उनको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो कार्यकालमा दुई पटक संसद् भंग गरेको तर्फलक्षित गर्दै उनले भने, ‘राजनीतिक पद्धति स्थिर भइसक्यो । संसद् पाँच वर्षभित्रमा कुनै बहादुरले भंग गर्न चाहेर अब त्यति सजिलै भंग हुँदैन । सम्मानीत सर्वोच्च अदालतले संविधानको धारा ७६ को उपधारा ५ को जे व्याख्या गरेको छ, त्यो ब्याख्याबमोजिम जबसम्म संसद्मा विकल्प हुन्छ, तबसम्म संसद् भंग हुँदैन ।’

साथै, विपी कोइरालाको मेलमिलाप नीतिअनुरुप अबको मेलमिलापको बहस पाँच वर्षसम्म स्थिरत रहने प्रधानमन्त्रीको विषय हुनुपर्ने बताए । राणा कालको अन्त्य भइसकेपछि कुनैपनि प्रधानमन्त्रीले आफ्नो पूरै कार्यकाल पूरा गर्न नपाएको उनले बताए । चुनावमा पहिलो हुने दलले मात्रै सरकारको पाँच वर्ष शासन गर्नुपर्ने र पहिलो हुने दललाईमात्रै सरकारमा जाने अधिकार हुनुपर्ने उनले बताए । अब संविधान संशोधनको ढोको खोल्दै गर्दा उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी संशोधन गरिनुपर्ने उनले बताए । विपीलाई प्रचण्डले प्रेरणाको स्रोत र जन नेता मदन भण्डारीले मनपर्ने नेताको रुपमा लिएको पनि महामन्त्री शर्माले सुनाए ।

त्यस्तै, आफूहरु कहिल्यै पनि माओवादीको पछि नलागेको उनको दाबी छ । उनले बरु माओवादी कांग्रेसको पछि लागेर शान्तिपूर्ण राजनीतिमा आएको बताए । कांग्रेसले माओवादीसँग चुनावी गठबन्धन गर्नु गलत भएपनि पछि लागेको कुरामा सत्यता नरहेको उनको भनाइ छ ।

‘हामी चोकमा बसेर कोही बेला कांग्रेसले के भन्दिरहेका हुन्छौंभने कांग्रेस माओवादीको पछि लाग्यो भन्दिरहेका हुन्छौं । त्यसको मूल तत्वलाई बुझिरहेका हुँदैनौं । हामी माओवादीको पछि लागेको भए त शान्ति प्रक्रियालाई छोडेर, शान्तिपूर्ण राजनीति छोडेर हिंसात्मक विद्रोहमा हामी माओवादीसँग जानुपर्थ्यो । माओवादी हाम्रो पछि लागेको कारणले रोल्पाको डाँडातिर पड्काउँदै गरेको बन्दुकलाई क्यान्टोनमेन्टमा थन्क्याएर, भोटे ताल्चा लगाएर, जनताको अगाडि आएर दुई हात जोडेर तिमीले जिते तिम्रो सत्ता, हामीले जिते हाम्रो सत्ता भन्ने पद्धतिमा त उ आएको हो,’– उनले भने ।