भीम रावललाई पद्मा अर्यालको सुझावः कमीकमजोरी आत्मसात् गरेर एमालेमै फर्किँदा हितकर छ


काठमाडौं, १७ पुस । नेकपा (एमाले) कि सचिव पद्मा अर्यालले कमीकमजोरीलाई आत्मसात् गरेर पार्टीमै फर्किन भीम रावललाई सुझाव दिएकी छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एमालेमै फर्किनु रावलको लागि हितकर रहेको बताएकी हुन् ।

एमाले सचिवालय बैठकले पार्टीका पूर्व उपाध्यक्षसमेत रहेका, पूर्व उपप्रधान एवं गृहमन्त्री रावलको सकृय सदस्यता खारेज गरेको थियो । एमालेले सकृय सदस्यता खारेज गरिदिएपछि रावलले आज पार्टी घोषणाको लागि पत्रकार सम्मेलन आयोजना गरेका छन् । तर, एमालेका केही नेताहरु रावलले कमिकमजोरी आत्मसात् गरेर फर्किनुपर्ने पक्षमा छन् ।

पार्टी सचिव अर्यालले भनिन्, ‘अस्ती पार्टीले एउटा निर्णय गरेको छ, यो सबैको सर्वसम्मतको निर्णय छ । उहाँले विगतबाट शिक्षा लिएर विगतका कमजोरीलाई आत्मसात् गरेर फर्केर फेरि एमालेमा काम गर्नेजस्तो हितकर कुरा उहाँलाई केहीपनि छैन । त्यही गर्दा हुन्छ । उहाँले महसुस गरेर आउँदा हुन्छ ।’

सचिव अर्यालले एमालेमा रावलको ठूला लगानी रहेको बताईन् । रावलले अर्को कोर्ष निर्माण गर्ने भन्दा पनि एमालेमै फर्किनु हितकर रहेको उनको भनाइ छ । ‘उहाँ पार्टीको नेता हो । यत्रो लगानी गर्नुभएको छ । अहिले पनि फरक कोर्ष निर्माण गर्ने भन्दा पार्टीमा बसेर काम गर्ने कुरा नेतृत्वसँग सल्लाह गर्ने हो । रोजेको पद त पाइँएन । अध्यक्ष हार्ने अनि राजेकै पद त पाइएन,’– उनले भनिन् ।

रावलले महाधिवेशनमा हारिसकेपछि पनि पदको अपेक्षा गरेर पार्टीले दिएको जिम्मेवारी पुरा नगरेको, पार्टी नेतृत्वको निरन्तर आलोचनामात्रै गरेको र पार्टीलाई बनाउने भन्दापनि कमजोर पार्ने गतिविधि गरेको सचिव अर्यालको भनाइ छ । पार्टी पक्षको कुरा नगर्ने र पार्टीको निर्णयलाई च्यालेन्ज गर्ने, नेतृत्वलाई च्यालेन्ज गर्नेहरु पार्टी बाहिर बस्दा नै राम्रो हुने उनको भनाइ छ ।

‘पार्टीमा बसेपछि पार्टीको पक्षको कुरा गर्नुपर्छ । पार्टी पक्षको कुरा, वर्गीय कुरा र जनपक्षीय कुरा नगर्ने हो भने कुन पार्टीमा बस्ने ? पार्टी विरोधी कुरा गर्न पार्टीमा बस्ने होईन, बाहिर बस्ने हो,’– उनले भनिन् ।