चीनले विश्वको सबैभन्दा लामो द्रुतमार्ग सुरुङ बनायो, लम्बाई २२ किलोमिटर १३ मिट


चीनले विश्वको सबैभन्दा लामो ‘एक्सप्रेसवे’ (द्रुतमार्ग) सुरुङ निर्माण गरेको छ। शिनजियाङ्गमा चार वर्षको कडा मेहनतपछि चीनले यो ऐतिहासिक प्रगति हासिल गरेको हो।

तियानशान शेङ्गली सुरुङ, जुन २२ किलोमिटर र १३ मिटर लामो छ, चीनको स्वायत्त क्षेत्र शिनजियाङ्गमा स्थित तियानशान पर्वतमार्गमा निर्माण गरिएको हो। यो सुरुङ पर्वत क्षेत्रको बीचबाट यात्रा समय घटाउनका लागि बनाइएको हो।

सुरुङको सञ्चालनसँगै उत्तरी र दक्षिणी शिनजियाङ्ग बीचको सम्पर्कमा सुधार आउने अपेक्षा गरिएको छ। शिनजियाङ्गको दक्षिणपश्चिम सीमा भारतसँग जोडिएको छ, जसका कारण यस सुरुङको रणनीतिक महत्त्व थप बढेको छ।

तियानशान सुरुङको निर्माण कार्य २०२० को अप्रिलमा सुरू भएको थियो, र यो परियोजना निर्माणका क्रममा धेरै चुनौतीहरूको सामना गर्नुपरेको थियो। तीन हजार मिटरभन्दा उच्च स्थान र जटिल भौगोलिक अवस्थाले सुरुङ निर्माण कार्यलाई कठिन बनाएको थियो।

सुरुङ निर्माणका लागि टनेल बोरिङ मेशिन (टीबीएम) को प्रयोग गरिएको थियो, जुन चीनमा पहिलो पटक सडक सुरुङ निर्माणमा प्रयोग गरिएको हो। यस मेशिनको प्रयोगले सुरुङ निर्माणको समयलाई १० वर्षबाट घटाएर मात्र चार वर्षमा पुरा गर्न सकेको छ। निर्माण कार्यमा तीन हजारभन्दा बढी श्रमिक खटाइएका थिए।

यो सुरुङको कारण तियानशान पर्वत पार गर्ने यात्राको समय तीन घण्टाबाट घटेर मात्र २० मिनेटमा पुग्नेछ। यो सुरुङ आउँदो वर्ष सञ्चालनमा आउनेछ, जसले क्षेत्रीय यातायात र आर्थिक गतिविधिहरूमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।