नायिका वर्षा राउत नायक विपिन कार्कीसँग मात्र फिल्म खेल्न रुचाउँछिन् भन्ने आरोप छ । उनको फिल्मको संख्या गन्ने हो भने पनि अधिकांश विपिनसँग नै छ । पछिल्लो रिलिज फिल्म ‘तेल भिसा’मा पनि यी दुई एकसाथ देखिएका थिए ।
तर, वर्षाले विपिनसँग जोडी बाँधेर काम गर्न लागेको फिल्म ‘पहाड’ भने छाडेकी छिन् । तुलसी घिमिरेको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा विपिन र वर्षाको जोडीले काम गर्ने पक्का भएको थियो ।
तर, अब वर्षा यो फिल्मबाट बाहिरिएकी छिन् । फिल्ममा तुलसीकी छोरी पञ्चमीले काम गर्दैछिन् । पञ्चमीले वर्षालाई रिप्लेस गरेकी भने होइनन् । अहिले, निर्देशक घिमिरे वर्षाको स्थानमा अर्की नायिकाको खोजी गरिरहेका छन् ।
यो फिल्ममा मदनकृष्ण श्रेष्ठ, सुनिल थापा लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । माघको पहिलो साताबाट फिल्मको छायांकन सुरु गर्ने तयारी गरिएको छ । यो फिल्मलाई तुलसीले आफ्नो सपनाको प्रोजेक्ट भन्दै आएका छन् ।
प्रतिक्रिया