काठमाडौँ – आज सुनको भाउ तोलामा एक हजार पाँच सय रुपैयाँले घटेर एक लाख ५२ हजार पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबारको तुलनामा सुनको मूल्य घटेको हो।
चाँदी भने आज पनि शुक्रबारको जस्तै तोलाको एक हजार आठ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।
यसैबीच, अन्तर्राष्ट्रिय बजारमा सन् २०२४ मा सुनको मूल्य २७ प्रतिशतले बढेको छ। यो वार्षिक वृद्धि सन् २०१० पछि सबैभन्दा बढी भएको बताइएको छ, जसको जानकारी लगानीसम्बन्धी अन्तर्राष्ट्रिय संचारमाध्यम इन्भेस्टिङ डटकमले दिएको छ।
अन्तर्राष्ट्रिय बजारको उतारचढावसँगै नेपाली बजारमा पनि २०२४ मा सुनको मूल्य २५ प्रतिशतले बढेको छ। सरकारले सुनको भन्सार दर २० प्रतिशतबाट घटाएर १० प्रतिशत बनाएकोले नेपाली बजारमा सुनको मूल्य अपेक्षाकृत कम बढेको देखिएको छ।
सन् २०२५ मा पनि सुनको मूल्य वृद्धिको प्रवृत्ति कायम रहने अनुमान गरिएको छ। अमेरिकामा घट्दो ब्याज दरले सुनको मूल्य वृद्धिमा सहयोग पुर्याउने इन्भेस्टिङ डटकमको अनुमान छ।
प्रतिक्रिया