काठमाडौं – एक महिलाले सेनिटरी प्याडमा लुकाएर सुन तस्करी गरेको रहस्य खुलासा भएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको छ, जसले महिला सेनिटरी प्याडमा सुन लुकाएर तस्करी गरेको पाइयो।
प्रहरीले नुवाकोटको पञ्चकन्या गाउँपालिका–१ घर भई काठमाडौं टोखा नगरपालिका–१ झोर बस्ने २६ वर्षीय सुजन नेपाली, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–३ घर भई काठमाडौं गोकर्णेश्वर बस्ने ३२ वर्षीया अनिता तामाङ (मिनसाङ लामा तामाङ) र काभ्रेको तेमाल गाउँपालिका–१ घर भइ काठमाडौं महानगरपालिका–६ बस्ने २२ वर्षीय लालबहादुर तामाङलाई सुन तस्करीको आरोपमा पक्राउ गरेको हो।
१४ पुसको आइतबार दिउँसो साढे २ बजे, फ्लाई दुबईको उडानमार्फत एक महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्ली। त्यसपछि महिलाले दुबईबाट सुन ल्याएको र उक्त सुन लुटिएको सूचना प्रहरीलाई प्राप्त भयो।
सुन लुटिएको खबरपछि, अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुर जिल्ला प्रहरी परिसरसँग मिलेर अनुसन्धान अघि बढाएको थियो।
तत्कालीन अनुसन्धानमा तीन जना पक्राउ परेका थिए। अनुसन्धानको क्रममा थाहा भयो कि, उक्त महिला जसले सुन ल्याएको थिइन्, उनले सेनिटरी प्याडमा सुन लुकाएर ल्याएको बताइन्। सुनलाई गालेर लिक्विड बनाएर प्याडमा लगाएर ल्याएको खुल्न आयो।
पक्राउ गरिएको सुन झण्डै आधा किलो, ४३६.१० ग्राम रहेको र यो सबै प्रहरीले बरामद गरेको छ। साथै, लुटेराहरूबाट तीन थान मोबाइल र एक मोटरसाइकल पनि बरामद गरिएको छ।
पक्राउ परेकाहरूविरुद्ध जिल्ला प्रहरी परिसर भक्तपुरबाट अनुसन्धान जारी रहेको जानकारी अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले दिए।
प्रतिक्रिया