भूतसँग गफ गर्न सक्छु, तर मान्छेसँग डर लाग्छः प्रियंका कार्की



नायिका प्रियंका कार्कीले आफूलाई भूत भन्दा मान्छेसँग डर लाग्ने तर्क गरेकी छिन् । आज आयोजित फिल्म ‘ममी’को गीत रिलिज कार्यक्रममा बोल्दै प्रियंकाले अहिलेको संसारमा मानिसहरुसँग डराउनुपर्ने तर्क गरिन् ।

प्रियंकाले भनिन्–‘मलाई भूतसँग डर लाग्दैन । बरु, म एकछिन बसेर भूतसँग गफ गर्न सक्छु होला । तर, मलाई मानिसहरुसँग डर लाग्छ । अहिलेको समाज नै डरलाग्दो बनिरहेको छ ।’

नायिका कार्कीले आफूले धेरै हरर फिल्ममा काम गरेपनि ती फिल्महरु आफैलाई नतर्साएको तर्क गरिन् । उनले भनिन्–‘नेपालमा धेरै हरर फिल्म गर्ने नायिकाहरुमा म पनि पर्छु । तर, माला भन्ने फिल्म बाहेक अरु फिल्म हेर्दा म आफै पनि तर्सिएकी छैन । नेपालमा हरर फिल्मको कथा स्क्रिप्टमा मात्र राम्रो हुन्छ । जब, छायांकन भएर फिल्म बन्छ त्यसले दर्शकलाई छुदैन ।’

प्रियंकाले विशेषगरि, नेपाली हरर फिल्मको साउन्ड, भीएफएक्स नै कमजोर बन्ने गरेको तर्क गरिन् । तर, फिल्म ‘ममी’ त्यस्तो नभएको उनको भनाई छ । आफूले फिल्ममा काम गर्नु अगाडि नै निर्देशकसँग यो बिषयमा कुराकानी गरेको उनले बताइन् ।