काठमाडौँ – स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट अपचलन गरिएको रकम रवि लामिछानेको नामबाट विदेश पठाइएको भेटिएको छ। काठमाडौँ जिल्ला अदालतमा दायर गरिएको अभियोगपत्र अनुसार, ७५ लाख १० हजार २ सय रुपैयाँ रेमिटमार्फत विदेश पठाइएको तथ्य पत्ता लागेको हो।
प्रहरीको अनुसन्धानले २०२१ र २०२२ का बीचमा सो रकम विदेश पठाइएको निष्कर्ष निकालेको छ। बयानमा, रास्वपा सभापति रवि लामिछानेले ‘एलएओ एसिया प्यासिफिक स्याटेलाइट कम्पनी’लाई भुक्तानी स्वरूप सो रकम पठाएको जानकारी दिएका छन्। उनले गोरखा मिडिया नेटवर्कले एलएओ एसिया प्यासिफिक स्याटेलाइट कम्पनीसँग सम्झौता गरेको बताएका छन्।
२०७७ सालको चैत २० गते गोरखा मिडिया नेटवर्कको बैठकले सहकारीको जगेडामा रहेका शेयरमध्ये १ लाख ८० हजार शेयर रवि लामिछानेलाई खरिद गर्न अनुमति दिने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार, जीबी राईले लामिछानेलाई सहकारीको रकम ट्रान्सफर गरेको अनुसन्धानले देखाएको छ।
प्रतिक्रिया